नेपाली पैसा
काठमाडौं : नेप्से सूचक आइतबार ६.९० अंकले घटेको छ । यससँगै सूचक १९२६.४० विन्दुमा आएको छ । करिब १ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सेयर बजारको सुस्त प्रवृत्तिले आइतबार पनि निरन्तरता पाएको छ । लगानीकर्ता साइलेन्स बस्दा कारोबार रकम न्यून छ भने सूचकले पनि दबाबको सामना गर्दै आएको छ । यसअघि बजार उच्च विन्दुमा पुग्दा फसेका लगानीकर्ताले अहिले थप लगानी गर्न सक्ने अवस्था छैन । उनीहरुलाई ऋणको साँवा र ब्याज भुक्तानी गर्नै धैधौ परिरहेको अवस्था छ । बैंकबाट थप कर्जा लिन पनि केन्द्रीय बैंकले निरुत्साहित गरिरहेको छ ।
यता, नयाँ लगानीकर्ता पनि प्रवेश गरेका छैनन् । नयाँको आगमन हुनका लागि सेयर बजारमा लगानी गरेर मनग्ये कमाइन्छ भन्ने सन्देश जान आवश्यक हुन्छ । झन्डै १९ महिनादेखि बजार वियरिस ट्रेन्डमा छ । घटेको बजारमा अधिकांशले नोक्सान व्यहोरेका छन् । यसकारण, नयाँलाई लोभ्याउने सन्देश प्रवाह हुन सक्दैन । यस्तो बेला नयाँ लगानीकर्ता थपिने सम्भावना अत्यन्त न्यून हुन्छ ।
बजारले गति लिनका लागि लगानीकर्ताको मनोविज्ञानमा सुधार ल्याउनैपर्छ । यसका लागि सरकार तथा नियामकले केही नीतिगत व्यवस्था गर्न आवश्यक हून्छ । यस्तै, बैंकहरुले बोलाई–बोलाई कर्जा प्रवाह गर्ने अवस्था आउनुपर्छ । तरलता सहज हुनुका साथै ब्याजदर घट्न अनिवार्य हुने विश्लेषकहरु बताउँछन् । यसो हुन सकेमा बजार क्रमशः गति लिंदै जानेछ ।
यस्तै, अर्थमन्त्री पद खाली छ । अब कुन पार्टीबाट को आउने हो ? भन्ने सर्वत्र चासो छ । नयाँ अर्थमन्त्रीले राष्ट्र बैंक लगायत निकायकाका अधिकारीहरुसँग कसरी समन्वय गर्छन् भन्ने कुरालाई पनि लगानीकर्ताले सुक्ष्म हिसाबले हेरेको देखिन्छ । यसले पनि बजार सुस्त बनाउन भूमिका खेलेको अनुमान छ । यस्तै, यसलाई छोटो समयमा ह्वात्तै बढेको बजारमा आएको स्वभाविक करेक्सन भन्नेहरु पनि उत्तिकै छन् । यी यावत् कुराहरुले लगानीकर्ताको मनोबल अझै बढ्न नसकेको जानकारहरुको भनाई रहेको छ ।
लामो समयदेखि पुँजी बजारको गति सुस्त भइरहेको छ । यसअघि छोटो समयमा २२७८ आसपाससम्मको रफ्तार लिएको बजार त्यसपछि भने निरन्तरजसो घटिरहेको छ । अहिले बजार १९ सयको लाइनमा घुमिरहेको छ । यसबीचमा भएका राजनीतिक अस्थिरता, अर्थमन्त्री पद खालीलगायतका कारणले बजारमा लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको अनुमान गरिएको छ ।
यस्तै, नाफा बुक गरेका ट्रेडरहरु अझै ‘पर्ख र हेर’कै अवस्थामा रहनु, अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक अर्थतन्त्रले गति लिन नसक्नु लगायतका कारणले आम लगानीकर्ताको मनोबल कमजोर बनेको देखिन्छ । यद्यपि, सेयर बजारको गति र प्रवृत्ति परिवर्तन भइरहन्छ । निरन्तर घटेको बजार अवश्य पनि एउटा विन्दुमा पुगेपछि बढ्न थाल्नेछ ।
यसर्थ, आम लगानीकर्ताले सेयर भाउ सस्तो भएका बेला सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्दै जान अनुभवीहरुले सुझाव दिने गरेका छन् । यसैगरी, बैंकहरुले विस्तारै ब्याजदर घटाउन थालेका छन् । तरलता पनि क्रमशः सहज हुँदै जान थालेको अवस्था छ । यसअघि बजार बेस्सरी प्रभावित हुनुमा बैंकमा तरलता अभाव र चर्को ब्याजदर प्रमुख कारण बनेका थिए ।
यस दिन २५९ कम्पनीको ३१ लाख ६३ हजार कित्ता सेयर कारोबार भएको छ । ६ करोड १० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा आएको छ । यसैगरी, दोसो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एनआइसी एसिया बैंक परेका छन् ।
