नेपाली पैसा
काठमाडौं : क्रिप्टोकरेन्सीहरुको कुल बजार पुँजीकरण एक साताको अवधिमै २ खर्ब अमेरिकी डलरले बढेको छ । सिलिकन भ्याली बैंकको असफलतापछि तीब्र गतिमा घटेको क्रिप्टोकरेन्सीको मूल्य अमेरिकी केन्द्रीय बैंकले वित्तीय प्रणाली सुधार गर्ने बताएपछि बढ्न सुरु गरेको थियो । गत साताभार क्रिप्टोकरेन्सीको मूल्यमा सुधार भएपछि बजार पुँजीकरणमा उच्च वृद्धि भएको हो । गत आइतबार ९ खर्ब ५२ अर्ब अमेरिकी डलरबाट बढेर क्रिप्टोकरेन्सीको कुल बजार पुँजीकरण ११ अर्ब ५७ खर्ब नाघेको छ । यो क्रिप्टोकरेन्सीको पछिल्लो ६ महिनायताकै उच्च बजार पुँजीकरण हो ।
बजार पुँजीकरणको सबैभन्दा बढी हिस्सा ओगटेको बिटक्वाइनको मूल्य ९ महिनायताकै उच्च विन्दुमा पुगेको छ । गत आइतबार २० हजार ४४५ डलरमा खुलेको बिटक्वाइनको कारोबार शनिबार २७ हजार ९०७ डलरमा बन्द भएको हो । बिटक्वाइनको मूल्य एकै साता ६ हजार ४५१ डलर अर्थात ३१.५४% ले बढेको छ । सन् २०२१ नोभेम्बरयता बिटक्वाइनको मूल्यमा निरन्तरजसो गिरावट आइरहेको थियो । मूल्य घटेर सन् २०२२ नोभेम्बरमा १५ हजार डलरसम्म पुगेको थियो ।
यस्तै, अन्य क्रिप्टोकरेन्सीमध्ये इथिरियम गत साता १९.४९% ले बढेको छ । गत आइतबार १ हजार ४४१ डलरमा कारोबार सुरु भएको इथिरियमको मूल्य शनिबारसम्ममा २८६ डलरले बढेर १ हजार ७५८ डलरमा बन्द भएको थियो । जुन इथिरियमको गत ६ महिनायताकै उच्च मूल्य हो । पछिल्लो ७ दिनमा अन्य क्रिप्टोकरेन्सी रिपल ३.०२%, कार्डानो १०.१९%, पोलिगन ११.६९%, डजकोइन ११.२९%, सोलाना २०.०३%, लाइटकोइन १९.४५% ले बढेको छ ।