Market Closed

म्युचुअल फन्डहरुको सेयर बजारमा लगानी बढ्यो, अधिकांशको न्याभ पनि सुधार

02 Dec,2022
  • mutual-fund_12_2_2022_7_59_42.jpg
नेपाली पैसा 
 
काठमाडौं : झन्डै तीन दर्जन म्युचुअल फन्डहरुले कात्तिक मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २९ वटा बन्दमुखी र ५ खुलामुखी गरी जम्मा ३४ वटा म्युचुअल फन्डहरुले कात्तिक महिनाको वित्तीय विवरण प्रकाशित गरेका हुन् । सार्वजनिक गरिएको रिपोर्ट अनुसार अधिकांश फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । यसअवधिमा यी फन्डहरुको सूचीकृत सेयरमा लगानी पनि ३.३३% ले बढेर १७ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो महिना उक्त लगानी १७ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।
 
यसबीचमा सेयर बजारमा केही सुधार भएकाले यिनीहरुको न्याभ पनि बढेको हो । म्युचुअल फन्डहरुको लगानीको ठूलो हिस्सा सेयर बजारमा रहेको हुन्छ । त्यसैले बजार घट्दा वा बढ्दा यिनीहरुको न्याभ पनि तलमाथि हुने गर्छ । अघिल्लो महिनाको तुलनामा बजार केही बढेको छ । जसकारण यिनीहरुको लगानी पनि सामान्य बढेको छ । त्यस्तै, बैंक मौज्दात भने असोजको तुलनामा ४.९४% ले घटेर ८ अर्ब १५ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । असोजमा बैंक मौज्दात ८ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।
 
फन्डहरुले लाभांश वितरणमा रकम खर्च गर्नाले पनि बैंक मौज्दात घटेको हो । यता, कात्तिक मसान्तसम्म फन्डहरुको समग्रमा १ अर्ब २२ करोड ४८ लाख रुपैयाँ घाटामा रहेका छन् । अघिल्लो महिना उक्त घाटा १ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ रहेको थियो । कुल घाटा असोजको तुलनामा घटेको छ । यस अवधिसम्म ९ म्युचुअल फन्डहरुमात्र नाफामा रहेका छन् ।  
 
न्याभमा सानिमा इक्विटी फन्ड अगाडि


 
कात्तिक मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै न्याभ सानिमा इक्विटी फन्डको देखिएको छ । यसको न्याभ ३८ पैसाले बढेर ११ रुपैयाँ ८१ पैसा पुगेको छ । असोजमा यस फन्डको न्याभ ११ रुपैयाँ ४३ पैसा  रहेको थियो । यस अवधिसम्म आइपुग्दा ५ वटा फन्डबाहेक अन्य सबैको न्याभ बढेको छ । सबैभन्दा कम न्याभ सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको रहेको छ । यसको न्याभ जम्मा ७ रुपैयाँ ८९ पैसा रहेको छ ।
 
म्युचुअल फन्डहरुको सेयर बजारमा लगानी १७ अर्ब ६६ करोड


 
कात्तिक महिनामा अधिकांश म्युचुअल फन्डहरुको सेयर बजारमा लगानी बढेको छ । यसअवधिमा समग्रमा फन्डहरुले १७ अर्ब ६६ करोड ९९ लाख रुपैया बराबरको सेयर बजारमा लगानी गरेका छन् । यो असोज महिनाको तुलनामा ३.३३% ले धेरै हो । असोजमा म्युचुअल फन्डहरुले १७ अर्ब १० करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका थिए ।
 
यस अवधिसम्म आइपुग्दा सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डले १ अर्ब १५ करोड ७२ लाख रुपैयाँभन्दा बढी सेयर बजारमा लगानी गरेको छ । अघिल्लो महिनाको तुलनामा उक्त लगानी १.७८% ले धेरै हो । सबैभन्दा कम शुभ लक्ष्मी कोषको २ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर बजारमा लगानी छ । ३ फन्डहरु बाहेक अन्य सबैको सेयरमा लगानी बढेको छ ।  
 
म्युचुअल फन्डहरुको बैंक मौज्दातमा ८ अर्ब १५ करोड


कात्तिक महिनासम्ममा म्युचुअल फन्डहरुले ८ अर्ब १५ करोड ९८ लाख रुपैयाँ बैंकमा राखेका छन् । बैंक मौज्दात असोज महिनाको तुलनामा ४.९४% ले घटेको हो । अघिल्लो महिना फन्डहरुको बैंक मौज्दात ८ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ थियो । यसअवधिमा सबैभन्दा धेरै एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २ को ९२ करोड १६ लाख रुपैयाँ बराबरको बैंक मौज्दात रहेको छ ।

असोजमा यस फन्डको बैंक मौज्दात ९७ करोड ८ लाख रुपैयाँ रहेको थियो । ७ वटा म्युचुअल फन्डहरु बाहेक अन्य सबैको मौज्दात अघिल्लो महिनाको तुलनामा घटेको छ । सबैभन्दा कम सानिमा इक्विटी फन्डको १ करोड ८८ लाख रुपैयाँ बराबरको बैंक मौज्दात देखीएको छ  ।   
 
कुल नाफामा एनआइसी एसिया ग्रोथ फन्डको अग्रता 



 
यस अवधिसम्म आइपुग्दा सबैभन्दा धेरै कुल नाफा आर्जन गर्नेमा एनआइसी एसिया ग्रोथ फन्ड अगाडि रहेको छ । कात्तिकसम्म यो फन्डले ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो महिना यसले ८ करोड ३५ लाख रुपैयाँभन्दा धेरै नाफा कमाएको थियो । यसअवधिमा ९ फन्डले मात्रै नाफा कमाएका छन् । समग्रमा फन्डहरु १ अर्ब २२ करोड ४८ लाख रुपैयाँ घाटामा रहेका छन् । यद्दपि, अघिल्लो महिनाको तुलनामा कुल घाटा केही कम भएको छ ।
 

Post Your Comment