Market Closed

रेमिटेन्स कम्पनीलाई राष्ट्र बैंकको कडाई, विनिमयदरमा एकरुपता कायम गर्नुपर्ने

22 Jun,2021
  • NRB__9_18_2020_11_43_09.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल राष्ट्र बैंकले विप्रषण आप्रवाह (रेमिटेन्स) कम्पनीलाई कडाई गरेको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै विदेशी विनिमयदर र कारोबारमा कडाई गरेको हो । बैंक तथा वित्तीय संस्था र रेमिटेन्स कम्पनीहरुलाई राष्ट्र बैंकबाट फरेन एक्सचेञ्ज डिलर एसोसिएसन अफ नेपाल (फेडान)मार्फत् विनियमदर प्रकाशन हुने विदेशी विनिमयदर अनुसारनै कारोबार गर्न निर्देशन दिएको हो । 

जसअनुसार अब फेडानले प्रकाशित गर्ने विनिमयदर अनुसार सबै रेमिटेन्स कम्पनीहरु विदेशमा रहेका नेपालीको पैसा पठाउनु पर्नेछ । यसअघि विभिन्न रेमिटेन्स कम्पनीहरुले छुट्टाछुटै रेटमा विदेशी मुद्रा सटही गरी रेमिटेन्स पठाउने गरेका हुँदा यसलाई एकरुपता ल्याउन सो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार फेडानले प्रकाशित हुने विदेशी मुद्राहरुको औषत खरिद दर तय गरी प्रत्येक दिन बिहान १० बजे र २ बजे प्रकाशित गर्नुपर्ने छ । 

जसमा फेडानले नेपाली रहेका सम्पूर्ण देशको मुद्राको विनिमयदर प्रकाशित गर्नु पर्नेछ । सोही दरलाई आधार मानी बैंक तथा वित्तीय संस्था र रेमिटेन्स कम्पनीहरुले विप्रेषण कारोबार गर्नु पर्नेछ । फेडानले प्रत्येक दिन प्रकाशित विनिमयदर राष्ट्र बैंक विदेशी व्यवस्थापन विभाग पठाउनु पर्ने छ भने रेमिटेन्स समबन्धी कारोबार गर्ने सबै संस्थाले फेडानको सदस्यता लिनु पर्नेछ ।
 
यस्तै, राष्ट्र बैंकले रेमिटेन्स कम्पनीहरुलाई आफ्ना एजेन्टसँग नगद धरौटी लिन नपाउने व्यवस्था समेत गरेको छ । जसलाई राष्ट्र बैंकले बैंक ग्यारेन्टी लिनु पर्ने निर्देशन कम्पनीलाई दिएको हो । साथै, यस्ता रेमिट एजेन्टहरुलाई कम्पनीले दिने वित्तीय तथा गैर वित्तीय सुविधा विदेशबाट प्राप्त हुने रेमिटेन्स रकमबाट कट्टी गर्न नपाउने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।
 

Post Your Comment