Market Closed

निर्जीवन बिमा कम्पनीहरुको पहिलो त्रैमास : प्रमुख सूचकहरुमा कुनको अवस्था कस्तो छ ?

19 Nov,2021
  • profit-concept_5_15_2019_7_09_18.jpg
इशारा कोइराला

काठमाडौं : नेप्सेमा सूचीकृत १८ निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रतिकूल परिस्थितिमा पनि निर्जीवन बिमा कम्पनीहरुले क्रमशः प्रगति हासिल गर्दै गएको देखिन्छ । बिमा कम्पनीहरुको प्रमुख कमाई खुद बिमा शुल्क वृद्धि हुँदै गएको देखिन्छ । यसअपधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा शिखर इन्सुरेन्स रहेको छ । खुद बिमा शुल्क आर्जनमा नेको इन्सुरेन्स सबैभन्दा अगाडि देखिएको छ । यता, राष्ट्रिय बिमा कम्पनीको पनि कतिपय प्रमुख सूचकहरुमा अब्बल अवस्था देखिएको छ । विशेषगरी चुक्ता पुँजी, जगेडा कोष, बिमा कोष र प्रतिसेयर आम्दानीमा राष्ट्रिय बिमा कम्पनी अगाडि रहेको छ । 

नाफा, बिमा शुल्क आर्जन लगायतको अध्ययन गर्दा यसको साथमा उक्त कम्पनीको चुक्ता पुँजी कति छ भन्ने तर्फ विशेष ख्याल गर्नुपर्ने हुन्छ । किन भने कति पुँजीबाट सम्बद्ध कम्पनीले कति नाफा गर्यो वा कति खुद बिमा शुल्क आर्जन गर्यो भनेर हेर्नुपर्ने हुन्छ । धेरै चुक्ता पुँजी भएको कम्पनीले रकमका आधारमा हेर्दा नाफा वा बिमा शुल्क धेरै देखिए पनि इपीएस, नेटवर्थ वा लगानीकर्ताले पाउने प्रतिफल कम हुन पनि सक्छ । हेरौं कुन कम्पनीको अवस्था कस्तो :
 
चुक्ता पुँजीमा शिखर इन्सुरेन्स अगाडि

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै चुक्ता पुँजी शिखर इन्सुरेन्सको रहेको छ । यसको पुँजी २७.९४% ले बढेर १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा १२ कम्पनीको चुक्ता पुँजी बढेको छ भने ६ कम्पनीको चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी बढ्नेमा सानिमा जनरल इन्सुरेन्स रहेको छ । यसको चुक्ता पँुजी ४२.८६% ले बढेर १ अर्ब रुपैयाँ पुगेको छ । यसले यसै वर्ष आइपीओ जारी गरेकाले पुँजी धेरै बढेको हो । 

 

जगेडा कोषमा राष्ट्रिय बिमा कम्पनी अगाडि

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै जगेडा कोष राष्ट्रिय बिमा कम्पनीको रहेको छ । यसको जगेडा कोष ६.१९% ले बढेर ३ अर्ब १७ करोड ९५ लाख ५५ हजार रुपैयाँ पुगेको छ । नेको इन्सुरेन्स दोस्रोमा छ यसको जगेडा कोष ७३ करोड २९ लाख ६८ हजार रुपैयाँ छ । यसअवधिमा १६ कम्पनीको जगेडा कोष बढेको छ भने २ कम्पनीको जगेडा कोष घटेको छ । सबैभन्दा धेरै जगेडा कोष बढ्नेमा जनरल इन्सुरेन्स रहेको छ । यसको जगेडा कोष ८२.९७% ले बढेर १० करोड ४७ लाख ५९ हजार रुपैयाँ पुगेको छ । 

 

बिमा कोषमा पनि राष्ट्रिय बिमा कम्पनी नै अगाडि

असोज मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै बिमा कोष राष्ट्रिय बिमा कम्पनीको रहेको छ । यसको बिमा कोष ८.१४% ले बढेर २ अर्ब ४६ करोड १२ लाख २३ हजार रुपैयाँ पुगेको छ । शिखरको बिमा कोषमा १ अर्ब ३६ करोड छ । यसअवधिमा प्रुडेन्सियल इन्सुरेन्स बाहेक अन्य सबै कम्पनीको बिमा कोषको आकार बढेको छ । सबैभन्दा धेरै बिमा कोषको आकार बढ्नेमा जनरल इन्सुरेन्स रहेको छ । यसको बिमा कोषको आकार ९२.०६% ले बढेर १२ करोड ८ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

 

खुद बिमा शुल्कमा नेको इन्सुरेन्स अगाडि

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै खुद बिमा शुल्क नेको इन्सुरेन्सले आर्जन गरेको छ । यसको बिमा शुल्क १४.०३% ले बढेर ४९ करोड ३५ लाख ७६ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, शिखर इन्सुरेन्सले ४४ करोड ५० लाख ३८ हजार रुपैयाँ छ । एक वर्षको अवधिमा १५ कम्पनीको खुद बिमा शुल्क आर्जन बढेको छ भने ४ कम्पनीको खुद बिमा शुल्क आर्जन घटेको छ । सबैभन्दा धेरै खुद बिमा शुल्क बढ्नेमा सानिमा जनरल इन्सुरेन्स रहेको छ ।  



खुद नाफामा शिखर इन्सुरेन्सको अग्रता 

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै खुद नाफा शिखर इन्सुरेन्सले कमाएको छ । यसको खुद नाफा ९.२८% ले बढेर १३ करोड ३६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । नाफामा दोस्रो स्थानमा प्रिमियर इन्सुरेन्स र तेस्रोमा नेको इन्सुरेन्स छ । यसअवधिमा १४ कम्पनीको खुद नाफा बढेको छ भने ४ कम्पनीको नाफा घटेको छ । सबैभन्दा धेरै नाफा बढ्नेमा जनरल इन्सुरेन्स रहेको छ । यसको नाफा ६१.२५% ले बढेर ३ करोड ८३ लाख ५४ हजार रुपैयाँ पुगेको छ । 


 

प्रतिसेयर आम्दानीमा पनि राष्ट्रिय बिमा कम्पनी नै अगाडि

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी राष्ट्रिय बिमा कम्पनीको रहेको छ । यसको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४४ पैसाले बढेर ९३ रुपैयाँ १४ पैसा पुगेको छ । शिखर इन्सुरेन्सको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४० पैसा र नेको इन्सुरेन्सको प्रतिसेयर आम्दानी ३० रुपैयाँ ३५ पैसा छ । असोज मसान्तसम्म आइपुग्दा ८ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने १० कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । 

Post Your Comment