Market Closed

सगरमाथा इन्सुरेन्सको आधारभूत र प्राविधिक अवस्था कस्तो छ ?

20 Nov,2021
  • sagarmatha-insurance-company-lt_2_13_2018_1_36_42_2_12_2021_9_59_37_5_19_2021_10_32_37.jpg
नेपाली पैसा 
 
काठमडौं : सगरमाथा इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा यस कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफा नोक्सान खाता हेर्दा असोज मसान्तसम्म कुल आम्दानी १७.६७ प्रतिशतले बढेर ११ करोड ९ लाख रुपैंया पुगेको छ भने कुल खर्च २७.४५ प्रतिशतले बढेर ४ करोड ९२ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।

एकीकृत आय व्ययबाट ट्रान्सफर गरेको आम्दानी ३८.४८ प्रतिशतले घटेर ३ करोड ६५ लाख रुपैयाँ रहेको छ । लगानी, कर्जा तथा अन्य शीर्षक गत वर्ष भन्दा ८८.८१ प्रतिशतले बढेर ६ करोड ५९ लाख रुपैयाँ पुगेको छ । यता, व्यवस्थापन सञ्चालन खर्च २८.२३ प्रतिशत बढेर ८७ लाख ५४ हजार रुपैयाँ पुगेको छ । 
 
यता, एकीकृत आय व्यय हिसाव हेर्दा कुल आय २१.५९ प्रतिशतले बढेर १ अर्व ७३ करोड रुपैयाँ तथा कुल व्यय २४.२० प्रतिशतले बढेर १ अर्व ६९ करोड ३५ लाख रहेको छ । खुद बिमा शुल्क १०.०७ प्रतिशतले बढेर ३९ करोड ४२ लाख ५ हजार रुपैयाँ पुगेको छ । यस कम्पनीले असोज मसान्तसम्म पुनर्बिमा व्यवसायबाट कमिशनबापत हुने रकम पनि ३३.९३ प्रतिशतले बढाएको छ । 
 
विभिन्न क्षेत्रमा गरिएको कर्जा तथा लगानी बापत ३ करोड ६३ लाख रुपैयाँ आर्जन गर्न कम्पनी सफल भएको छ । यसले ३ महिनाको अवधिमा १७ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत वर्ष यही अवधिमा सगरमाथाले १३ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । 
 
चुक्ता पुँजी १ अर्ब ११ करोड १३ लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५० करोड ६२ लाख रुपैयाँ रहेको छ । यस्तै, बिमा कोषमा १ अर्ब ८ लाख रुपैयाँ र महाविपत्ति कोषमा १० करोड २५ लाख रुपैयाँ सञ्चित छ । सगरमाथाको वार्षिक प्रतिसयर आम्दानी २२ रुपैयाँ २१ पैसा, प्रतिसेयर नेटवर्थ २५२ रुपैयाँ ९ पैसा र मूल्य आम्दानी अनुपात ५५.६० गुणा रहेको छ । 
 
यस अवधिसम्ममा कम्पनीले ४२ हजार ९८९ वटा बिमालेख जारी गरी ९० करोड ६७ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । यस्तै, यसले २ हजार ५४ वटा दाबी बापत २४ करोड ७ लाख रुपैयाँ भुक्तानी गरेको छ । ११ हजार १०५ वटा दाबीबापत २ अर्ब ५ करोड ५१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।






फ्लोर सिट

 
 सगरमाथा इन्सुरेन्सको १ हप्ताको फ्लोरसिट हेर्दा खासै कुनै ब्रोकरले ठूलो संख्यामा सेयर होल्डिङ गरेको देखिंदैन । गत साता १४ तथा ७ नम्बर लगायतका ब्रोकरबाट सबैभन्दा धेरै खरिद भएको छ भने तथा ४८, ६ तथा ५७ नम्बर ब्रोकरबाट सबै भन्दा बिक्री भएको देखिन्छ । यसको टप ५ वटा कारोवार भोलुम ५ हजार ७०६ कित्ता कारोबार भएको छ । यसको ब्रोकर कमिशन सहितको औसत लागत १३ सय देखि १३ सय ४५ रुपैयाँ पर्ने देखिन्छ ।   
 
प्राविधिक विश्लेषण 

 
 मैनबत्ति विश्लेषण 
 
यस साता कारोबार बन्द हुँदा सानो हरियो मैनबत्ति आकृति बनेको छ । 
 
दैनिक १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५७ बाट ५२ बिन्दुमा आएको छ । 
 
मुभिङ एभरेज कन्भरजेन्स डाइभरजेन्स 
 
गत साता कारोवार बन्द हुँदा एमएसीडी र सिग्नल रेखाको नजिक आएको छ भने  हिस्टोग्राम पनि सेन्ट्रल लाइनबाट माथि छ । 
 
कमोडिटी च्यानल इन्डेक्स
 
यस साता कमोडिटी च्यानल इन्डेक्स ४२ बिन्दु आएको छ । कमोडिटी च्यानल इन्डेक्स धनात्मक १०० मा खरिद तथा ऋणात्मक १०० ले विक्रीको संकेत दिने गर्दछ । 
 
बोलिन्जर ब्याण्ड 
 
यसको बजार मूल्य बोलिन्जरको मध्य ब्याण्ड माथि रहेको छ । बोलिन्जर ब्याण्डले  बजार मूल्मा हुने उतारचढावको मापन गर्दछ । 
 
निष्कर्ष 
 
सगरमाथा इन्सुरेन्सले पहिलो त्रैमाससम्ममा १०.८८ प्रतिशतले वृद्धि गरेर ६ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको छ । लगानी, कर्जा तथा अन्य शीर्षक ८८.८१ प्रतिशत वृद्धि भई ८४ लाख ७२ हजार रुपैयाँ पुगेको छ । यसको बिमा कोष पनि ६४.०३ प्रतिशतले बढेर १ अर्ब ८ लाख रुपैयाँ पुगेको छ ।

मूल्य प्रवृति हेर्दा स्थिरप्रायः रहेको देखिन्छ । प्रविधिक सूचकहरुमा हेर्दा आरएसआई ५२ को बिन्दुमा छ भने एमएसीडी सिग्नल रेखा नजिक आएको छ । समग्रमा हेर्दा यस कम्पनीमा लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेको देखिन्छ ।

सावधानी : यो विश्लेषण आफैंमा पूर्ण होइन । थप अध्ययन अनुसन्धान गरेरमात्र लगानी सम्बन्धी निर्णय लिनु हुन लगानीकर्ताहरुमा अनुरोध गरिन्छ । 
 

Post Your Comment