Market Closed

निर्जीवन बिमा कम्पनीहरुको नाफा सामान्य प्रभावित हुँदा बिमा कोष वृद्धि, प्रमुख सूचकहरु कुनको कस्तो छ ?

16 Nov,2022
  • growth_11_16_2022_7_33_10.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेप्सेमा सूचीकृत १६ निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार बिमा कम्पनीहरुको समग्र नाफा २.९२% ले घटेर ८३ करोड ७५ लाख ६९ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यिनीहरुले ८६ करोड २७ लाख रुपैयाँ बराबरको नाफा आर्जन गर्न सफल भएका थिए । यिनीहरुको खुद बिमा शुल्क भने १.८७% ले वृद्धि भएको छ ।

असोज मसान्तसम्म यी कम्पनीहरुले ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका छन् । बिमा कोषमा १४ अर्ब ७२ करोड २० लाख रुपैयाँ जम्मा भएको छ । गत वर्ष १२ अर्ब ९३ करोड ९५ लाख रुपैयाँ थियो । यता, १६ वटा इन्सुरेन्सको जगेडा कोष समग्रमा ३.८१% ले घटेको छ । ८ अर्ब ९३ करोड ११ लाख रुपैयाँ रहेको जगेडा कोष अहिले घटेर ८ अर्ब ५९ करोड १२ लाख रुपैयाँमा झरेको छ ।

यस अवधिसम्म यिनीहरुको चुक्ता पुँजी औसतमा १४.४९% ले बढेर २१ अर्ब ३२ करोड ७८ लाख रुपैया पुगेको छ । असोज मसान्तसम्म सबैभन्दा धेरै चुक्ता पुँजीसहित खुद बिमा शुल्क आर्जन र नाफा कमाउनेमा शिखर इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यता, राष्ट्रिय बिमा कम्पनीको पनि कतिपय प्रमुख सूचकहरु अब्बल देखिएको छ । जगेडा कोष र बिमा कोषमा राष्ट्रिय बिमा कम्पनी अगाडि रहेको छ । 
 
नाफा, बिमा शुल्क आर्जन लगायतको अध्ययन गर्दा उक्त कम्पनीको चुक्ता पुँजी कति छ भन्नेतर्फ विशेष ख्याल गर्नुपर्ने हुन्छ । कति पुँजीबाट सम्बद्ध कम्पनीले कति नाफा गर्यो वा कति खुद बिमा शुल्क आर्जन गर्यो भनेर हेर्नुपर्ने हुन्छ । धेरै चुक्ता पुँजी भएको कम्पनीले रकमका आधारमा हेर्दा नाफा वा बिमा शुल्क धेरै देखिए पनि इपीएस, नेटवर्थ वा लगानीकर्ताले पाउने प्रतिफल कम हुन पनि सक्छ । यसर्थ, यस कोणबाट पनि लगानीकर्ताले अध्ययन गर्न आवश्यक हुन्छ । 
 
चुक्ता पुँजीमा शिखर इन्सुरेन्स अगाडि

 
१६ निर्जीवन बिमा कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी शिखर इन्सुरेन्सको देखिएको छ । यसको पुँजी ३०% ले बढेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा यसको १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ पुँजी रहेको थियो । त्यसपछि हिमालयन एभरेष्टको २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । हिमालय र एभरेष्ट इन्सुरेन्स एक आपसमा मर्ज भएर पुँजी यति पुगेको हो ।

एक वर्षको अवधिमा निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी समग्रमा १४.४९% ले बढेको छ । यसअवधिमा यिनीहरुको चुक्ता पुँजी २१ अर्ब ३२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । ५ कम्पनीबाहेक अन्य सबैको पुँजी बढेको छ । सबैभन्दा कम राष्ट्रिय बिमा कम्पनीको २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । 
 
जगेडा कोष राष्ट्रिय बिमा कम्पनीको धेरै


 
सबैभन्दा धेरै जगेडा कोष राष्ट्रिय बिमा कम्पनीको देखिएको छ । यसको जगेडामा ३ अर्ब ४१ करोड २१ लाख रुपैयाँ जम्मा रहेको छ । गत वर्ष ३ अर्ब १७ करोड ९५ लाख रुपैयाँ रहेको थियो । त्यसपछि, शिखर इन्सुरेन्सको ७५ करोड ७१ लाख ७१ हजार रुपैयाँ बराबरको रिजर्भ रहेको छ ।

यस अवधिसम्म ७ कम्पनीहरुको जगेडा कोष बढेको छ । समग्रमा १६ निर्जीवन बिमा कम्पनीहरुको जगेडा कोष ३.८१% ले घटेर ८ अर्ब ५९ करोड १२ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको यसैअवधिमा निर्जीवन बिमा कम्पनीहरुको जगेडा कोषमा ८ अर्ब ९३ करोड ११ लाख ४० हजार रुपैयाँ थियो । 
 
राष्ट्रिय बिमा कम्पनीको बिमा कोषको आकार सबैभन्दा ठूलो 

 
यस अवधिसम्म राष्ट्रिय बिमा कम्पनीको बिमा कोष अन्यको तुलनामा धेरै देखिएको छ । यसको बिमा कोषमा २ अर्ब ६९ करोड ३८ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ९.४५% धेरै हो । त्यसपछि, शिखर र नेको इन्सुरेन्सको क्रमशः १ अर्ब ४७ करोड ९० लाख र १ अर्ब ४० करोड ३१ लाख रुपैयाँ बराबरको बिमा कोष रहेको छ ।

यस अवधिसम्म ६ कम्पनीको बिमा कोष १ अर्ब भन्दा धेरै छ । एक वर्षको अवधिमा १६ निर्जीवन बिमा कम्पनीहरुको बिमा कोषको आकार १३.७८% ले बढेर १४ अर्ब ७२ करोड २० लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा निर्र्जीवन बिमा कम्पनीहरुको बिमा कोषमा १२ अर्ब ९३ करोड ९५ लाख रुपैयाँ थियो । प्रिमियम इन्सुरेन्सबाहेक सबैको बिमा कोषको आकार बढेको छ ।  
 
खुद बिमा शुल्क आर्जनमा शिखर इन्सुरेन्सको अग्रता


 
 १६ इन्सुरेन्स कम्पनीमध्ये सबैभन्दा धेरै बिमा शुल्क आर्जन गर्नेमा शिखर इन्सुरेन्स अगाडि रहेको छ । यसले असोज मसान्तसम्म ४५ करोड १८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा १.५४% धेरै हो । त्यसपछि नेको इन्सुरेन्सले ४४ करोड ९३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

समग्रमा १६ कम्पनीहरुले आर्जन गरेको खुद बिमा शुल्क १.८७% ले बढेर ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बिमा कम्पनीहरुले ३ अर्ब ६५ करोड ९४ लाख २१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेका थिए । एक वर्षको अवधिमा ९ कम्पनीको खुद बिमा शुल्क बढेको छ भने ७ कम्पनीको घटेको छ । 
 
शिखर इन्सुरेन्सले कमायो सबैभन्दा धेरै नाफा

 
असोज मसान्तसम्म आइपुग्दा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै १३ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.९३% धेरै हो । गत वर्ष यसले १३ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै, प्रिमियम इन्सुरेन्सले ७ करोड ७९ लाख र प्रभु इन्सुरेन्सले ७ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।

सबैभन्दा कम अजोड इन्सुरेन्सले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिसम्म ७ कम्पनीको नाफा घटेको छ भने बाँकी अन्यको बढेको छ । एक वर्षको अवधिमा समग्र १६ निर्जीवन बिमा कम्पनीहरुको नाफा २.९२% ले घटेर ८३ करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।
 
प्रतिसेयर आम्दानीमा प्रिमियर इन्सुरेन्स अगाडि

 
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी प्रिमियर इन्सुरेन्सको देखिएको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४० पैसा रहेको छ । त्यसपछि शिखर इन्सुरेन्सको २३ रुपैयाँ ६० पैसा इपीएस छ । सबै भन्दा कम अजोड इन्सुरेन्सको ५ रुपैयाँ ८ पैसा प्रतिसेयर आम्दानी रहेको छ । १६ मध्ये ९ वटाको प्रतिसेयर आम्दानी घटेको छ ।
 

Post Your Comment