काठमाडौं : नेपाली पैसा मोबाइल एपले दक्षिण एसियाकै उत्कृष्ट
एमबिलियन्थ अवार्ड जितेको छ । यो एप सोर्स कोड प्रालिले बनाएको हो । भारतको नयाँ दिल्लीमा गत शुक्रबार आयोजित कार्यक्रममा सोर्स कोड प्रालिले बनाएको ‘नेपाली पैसा’ मोबाइल एप्लिकेसनलाई सर्वोत्कृष्ट घोषणा गर्दै अवार्ड (उपाधि) दिइएको हो । डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले मोबाइल प्रविधिसँग सम्बन्धित दक्षिण एसियाका कम्पनीहरुलाई सम्मान गर्दै आएको छ । यस प्रतिस्पर्धामा दक्षिण एसियाली मुलुकहरुबाट कुल २९४ वटा सूचना प्रविधि सम्बन्धी (आइटी) कम्पनीहरुले अवार्डका लागि आवेदन दिएका थिए । त्यसमध्येबाट ६५ वटा कम्पनी अन्तिम छनोटमा परेका थिए । जसमा सोर्ड कोर्डले बनाएको ‘नेपाली पैसा’ मोबाइल एप्लिकेसनले सूचना तथा मनोरञ्जन विधातर्फ आठौं एमबिलियन्थ अवार्ड हात पारेको हो । विभिन्न १० वटा विधामार्फत सहभागी कम्पनीहरु अन्तिम छनोटमा परेका थिए । सोर्स कोडले ‘नेपाली पैसा’ लाई सञ्चार तथा मनोरञ्जन विधाअन्तर्गत आवेदन दिएको थियो । यस अवार्डले वित्तीय क्षेत्रसँग सम्बन्धित मोबाइल प्रविधिमा आधारित काम गर्न थप हौसला मिलेको सोर्स कोडका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले बताए ।
अवार्डले सोर्स कोड र नेपाली पैसाको ब्रान्डिङमा थप सहयोग पुग्नुका साथै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने सम्पूर्ण नेपालीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न समेत हौसाला प्रदान गरेको श्रेष्ठको भनाई छ । आधुनिक मोबाइल प्रविधिले सर्वसाधारणको दैनिक जीवनलाई सहज र सशक्त बनाउन मद्दत पुर्याइरहेको छ । मोबाइल फोनको प्रयोग दक्षिण एसियाली राष्ट्रहरुमा पनि बढ्दो क्रममा रहेको छ । यसलाई ध्यानमा राख्दै डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले २०१० देखि मोबाइल प्रविधिका क्षेत्रमा काम गर्ने उत्कृष्ट कम्पनीलाई पहिचान र हौसला दिन ‘एमबिलियन्थ अवार्ड साउथ एसिया’ प्रदान गर्दै आएको छ । नेपाली पैसा आर्थिक विधामा केन्द्रित अनलाइन सञ्चारमाध्यम हो । नेपाली पैसाले अर्थतन्त्रसहित विशेष गरी सेयर बजारका लगानीकर्तालाई गतिलो खुराक पस्किंदै आएको छ । नेपाली पैसा एपमा लगानीसम्बन्धी महत्वपूर्ण सूचना, समाचार र तथ्यांकहरु उपलब्ध छन् । अत्यावश्यक सूचना अनि प्रयोगमा सहज भएकाले छोटो समयमै यो एप लगानीकर्तामाझ लोकप्रियसमेत भइसकेको छ ।