Market Closed

कोरोना संक्रमण नियन्त्रणका लागि कहाँ–कहाँबाट जुट्दैछ आर्थिक सहयोग

27 Mar,2020
  • nepal_3_27_2020_3_02_38.jpg
नेपाली पैसा
 
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न उपायहरु अपनाउदैं आएको छ । यसैक्रममा संक्रमण रोकथाम र नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट आर्थिक सहयोग प्राप्त हुनेक्रम पनि बढ्न थालेको छ । सरकार आफैले पनि नियन्त्रणका लागि कोष स्थापना गरेको छ । यही कोषमा रकम जम्मा हुन थालेको हो । 
 
सरकारले व्यक्तिगत सुरक्षा सामग्री, स्वास्थ्य उपकरण, नमूना परीक्षण किट र क्वारेन्टाइन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउन कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेको हो । साथै, सरकारले कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनै पनि संघसंस्थाले आफूखुशी कोष खडा गर्न नपाउने बताएको छ । रकम उपलब्ध गराउन चाहनेले सीधै सरकारले खडा गरेको कोषमा जम्मा गर्नुपर्नेछ । 
 
ग्त आइतबार साझ स्थापना गरिएको केन्द्रीय राहत कोषमा अहिले विभन्न संघ संगठनमार्फत सहयोग प्राप्त हुने क्रम बढेको छ । यसमा नेपाल सरकारका मन्त्रीहरुले १ महिनाको तलब योगदान गर्ने निर्णय गरेका छन् । साथै, सरकारले घोषणा गरेको यस कोषमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले पनि १५ दिनको पारिश्रमिक दिने भएका छन् । 
 
यसैबीच, गैर आवासीय नेपाली संघ (एनआरएन) ले पनि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । त्यस्तै, उद्योगपति वसन्त चौधरीले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा बताइसकेका छन् । चौधरीले कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने भएका हुन् । सहयोग अन्तर्गत ५० लाख रुपैयाँ नगद र बाँकी ५० लाख रुपैयाँ बराबरको अत्यावश्यकीय मेडिकल सामाग्री उपलब्ध गराउने चौधरीले जनाएका छन् । 
 
यता, लक्ष्मी ग्रुपले पनि १ करोड रुपैयाँको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । एनसेलले १० करोड रुपैयाँ दिएको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई १० करोडको चेक हस्तान्तरण गरेका हुन् । साथै, कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि विशाल ग्रुपले १ करोड रुपैयाँ सहयोेग गरेको छ । भाटभटेनी सुपरमार्केटले पनि कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । 
 
यता, बैंकहरुले पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषमा सहयोग गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले १ करोड ५० लाख रुपैयाँ दिने भएको छ । यस्तै, कृषि विकास बैंकले पनि १ करोड २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समितिले उक्त रकम दिने निर्णय गरेको हो ।
 
नेपाल बैंकले पनि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले बनाएको कोषमा १ करोड रुपैयाँ दिने निर्णय गरेको छ । कोरोना विरुद्ध लड्न ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख सहयोग गर्ने भएको छ ।हिमालयन बैंकले कारोना रोकथाम कोषमा १ करोड २५ लाख सहयोग गर्ने भएको छ । सिद्धार्थ बैंकले पनि सहयोग घोषणा गरेको छ । यता, बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले सरकारले स्थापना गरेको कोषमा १ महिनाको तलब दिने घोषणा गरेका छन् । पन्तले १ महिनाको तलब ५ लाख ५१ हजार रुपैयाँ कोषमा सहयोग गर्ने घोषणा गरेका हुन् ।
 
यता, पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बोर्डले आफूले कोषमा सहयोग गरेसँगै पुँजी बजार सम्बद्ध अन्य निकायहरु नेप्से, सीडीएससी, ब्रोकर र आस्वा सदस्य लगायतलाई पनि सहयोगका लागि अपिल गरेको छ । 
 
त्यस्तै, बिमा कम्पनीको नियामक निकाय बिमा समितिले केन्द्रिय कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बिमा समितिको सञ्चालक समिति बैठकले २ करोड रुपैयाँ दिने निर्णय गरेको हो । नेपाल वैदेशिक रोजगार व्यावसायी संघले पनि १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । अमेरिकाले नेपाल सरकारलाई करिब २१ करोड रुपैयाँ सहयोग गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासले कोरोना भाइरस सम्बन्धी तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन उक्त रकम सहयोग गर्ने घोषणा गरिएको हो । यता, काठमाडौं महानगरपालिकाले पनि १० करोड रुपैयाँको आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ । यी बाहेक प्रदेश सरकारहरुले पनि आफ्नो बेग्लै आकस्मिक कोष स्थापना गरेका छन् । कन्द्रीय राहत कोषमा यी बाहेक पनि व्यक्तिगत र संस्थागत सहयोग गर्ने क्रम पनि जारी रहेको छ । 
 
 
 
 

Post Your Comment