Market Closed

कोरोनाले अर्थतन्त्रको केही क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्छ : सन्तोष मैनाली

28 Mar,2020
  • santosh_img_3_28_2020_1_52_39.jpg
नेपाली पैसा    

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले नेपाली अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पार्ने सेक्युर्ड सेक्युरिटिजका कार्यकारी निर्देशक सन्तोष मैनालीले बताएका छन् । उनले भने, ‘पर्यटन, उड्यन, रेमिट्यान्स, वैदेशिक व्यापार लगायतका क्षेत्रमा यसले असर पार्छ । मूल्य वृद्धिमा पनि चाप पर्नेछ । औधषि र खाद्यान्नको व्यापार बढेको छ ।’

यस्तो बेला विलाशीलताको सामान खरिद कम हुने र यसले आयात घटाउने उनको तर्क रहेको छ । यसबाट परनिर्भतामा कमी पनि आउने छ । नेपाली पैसाको फिन टक कार्यक्रममा कुरा गर्दै मैनालीले भने, ‘परनिर्भता अधिक भएका कारण कतिपय वस्तु तथा सेवामा अभाव उत्पन्न हुन सक्छ । साथै, अब आन्तरिक रुपमा कृषि लगायतका क्षेत्रको उत्पादन पनि बढ्न सक्छ ।’

कृषि उत्पादन वृद्धि हुन सकेमा यसले अर्थतन्त्रमा सकारात्मक योगदान दिन सक्ने उनको भनाई हो । किन भने हाम्रो अर्थतन्त्रमा कृषिको योगदान अधिक छ ।  यसैगरी, आयात घट्न सक्ने, आन्तरिक उत्पादन बढाउनतर्फ कार्यक्रम र सोच विकास हुन सक्छ । यसले पनि दीर्घकालमा केही सकारात्मक प्रभाव पर्न सक्छ । तर पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर गर्छ । तर यसको जीडीपमा योगदान भने कम नै देखिन्छ । कोरोनापछि सर्वत्र नकारात्मक धारणा मात्र आइरहेका बेला उनले केही सकारात्मक प्रभावको सम्भावना पनि औंल्याएका हुन् ।

समग्रमा कोरोनाको प्रभाव अल्पकालमा मात्र परे त्यति ठूलो नकारात्मक असर गर्दैन । तर यसको प्रभाव लामो समयसम्म जारी रहेमा पनि यसले धेरैतिर नकारात्मक प्रभाव पर्न सक्नेतर्फ नजरअन्दाज गर्न नसकिने उनको भनाई छ । पछिल्लो समय नेपाली सेयर बजार घट्नुमा कोरोना भाइरस संक्रमणको केही असर त पक्कै परेको छ । तर प्रमुख रुपमा लगानीकर्ताले नाफा सुरक्षित गर्न हतारिदा बजार बेस्सरी तल झरेको उनको भनाई छ । 

उनले भने, ‘सेयर बजार छोटो समयमा धेरै बढेको थियो । त्यसैले केही करेक्सन आउनुपर्ने त थियो नै । सोही अनुसार करेक्सन आएको पनि हो । तर यही बेला एकाएक कोरोना भाइरसको असर विश्वव्यापीरुपमा देखियो । यसबाट नेपाली लगानीकर्ता पनि बढी हतोत्साही भए । बजार धेरै तल झर्नुमा यसको कारण पनि देखियो ।’

 कोरोना भाइरस संक्रमणको प्रभाव नेपालमा कति समयसम्म पर्छ त्यसैका आधारमा समग्र अर्थतन्त्रको आगामी गति निर्धारित हुने उनको भनाई छ । यसको असर लामो समयसम्म देखिएन भने हाम्रो अर्थतन्त्रमा खासै ठूलो नकारात्मक प्रभाव नपर्ने उनले बताए । कोरोनाबाट धेरै प्रभावित भएको क्षेत्रलाई सरकारले राहत दिने खालको योजना ल्याउन आवश्यक छ । अहिले सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ल्याएको योजनाहरु स्वागत योग्य रहेको उनको भनाई छ ।

 अन्तरर्वार्ताको विस्तृत विवरण यहाँ क्लिक गरेर हेर्नुहोस् । 

(नोट : यो अन्तरर्वार्ता केही समय लिइएको र त्यसपछि कोरोनाका कारण मुलुकको अवस्था सामान्य परिवर्तन भएकाले पाठक तथा स्रोताहरुले सोही अनुरुप यसलाई बुझिदिनु हुन अनुरोध छ ।) 

Post Your Comment