Market Closed

विश्व बैंक भन्छ : कोरोनाले विश्वकै आर्थिक वृद्धिदर खुम्चिने, एसियामा अझ बढी असर

31 Mar,2020
  • World-Bank_3_31_2020_11_07_48.jpg
नेपाली पैसा
 
काठमाडौं : कोरोना भाइरसका कारण सन् २०२० मा समग्र विकासशील देशहरु (विशेषगरी एसिया) को आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । अवस्था अझै बिग्रिएमा वृद्धिदर अझै खुम्चिएर नकारात्मक पनि हुन सक्ने विश्व बैंकले बताएको छ । सन् २०१९ मा एसियाली देशहरुको औसत आर्थिक वृद्धिदर ५ दशमलव ८ प्रतिशत रहेको थियो ।
 
महामारीले एसियाली अर्थतन्त्र निकै सुस्ताउने विश्व बैंकले बताएको छ । विशेष गरी पूर्वी एसिया र प्रशान्त क्षेत्रका मुलुक र चीनको अर्थतन्त्र नराम्ररी प्रभावित बन्ने विश्व बैंकले अनुमान गरेको छ । सोमबार विश्व अर्थतन्त्रबारे नयाँ प्रक्षेपण सार्वजनिक गर्ने क्रममा विश्व बैंकले यो अवस्थामा आर्थिक वृद्धिको प्रक्षेपण गर्नु निकै कठिन रहेको पनि उल्लेख गरेको छ ।
 
कोरोना संक्रमणको सुरुवात भएको चीनको आर्थिक वृद्धिदर यस वर्ष २.३ प्रतिशतमा झर्ने विश्व बैंकको भनाई छ । यो वृद्धिदर ०.१ प्रतिशतमा पनि सीमित हुन सक्ने उसको अनुमान छ । सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ६ दशमलव १ प्रतिशत थियो ।

भाइरसको प्रभाव सबै मुलुकमा देखिएकाले विश्वले नै आर्थिक सुधारका लागि विभिन्न कार्यक्रम अघिसार्नु जरुरी रहेको विश्व बैंकले उल्लेख गरेको छ । महामारीले धेरैलाई गरिबीको दिशामा धकेलेकाले यस वर्ष करिब २ करोड ४० लाख मानिस गरिबीको रेखामुनि आउन सक्ने समेत विश्व बैंकले उल्लेख गरेको छ ।
 
 
 

Post Your Comment