बेइजिङ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का क्षेत्रीय निर्देशक ताकेशी कासाईले एसियामा कोरोना भाइरस महामारीको अवस्था निश्चित मुलुकमा बाहेक अझै नियन्त्रण भन्दा टाढा रहेको बताएका छन् । कासाईले अहिले एसियामा देखिएको स्थिर अवस्था तथा केहीमा सामान्य सुधार अवस्थाको लाभ लिँदै देशहरूले आफ्ना समुदायमा कोरोना भाइरस थप फैलिन नदिन लागिपनुपर्नेमा जोड दिएका छन् ।
अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एसियाली देशहरुले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिए । चीन, दक्षिण कोरिया, सिंगापुरलगायतका देशले कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका समयमा डब्लुएचओका अधिकारीको यो भनाई सार्वजनिक भएको हो ।
चीनमा पछिल्ला केही सातायता नयाँ संक्रमण पुष्टि नगन्य मात्रामा छ । दक्षिण कोरिया, जापान, भारत, पाकिस्तानमा भने संक्रमित संख्या बढ्दो क्रममा रहेको छ । चीनले भाइरस नियन्त्रणका लागि निकै कडा प्रतिबन्धहरू लगाएपछि पछिल्ला केही सातादेखि स्वदेशभित्र नै संक्रमितको संख्या करिब ‘शून्य’ मा झरेको यहाँका अधिकारीहरूले बताउँदै आएका छन् ।
यसैबीच, विश्व बैंकले पूर्वी एसियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ । विश्व बैंकको पछिल्लो पूर्वानुमान अनुसार भाइरसका कारण पूर्वी एसिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ ।
(रासस–सिन्ह्वा)