Market Closed

नयाँ ब्रोकर छान्ने अधिकार नेप्सेकै

24 Nov,2021
  • nepse_11_24_2021_7_20_53.jpg
नेपाली पैसा
 
काठमाडौं : पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले आफैं सेयर ब्रोकर छान्न पाउने व्यवस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो । तर, त्यो प्रस्ताव अर्थ मन्त्रालयले अस्वीकृत गरिदिएको छ । ब्रोकर छनोटको व्यवस्था बोर्ड आफैंले गर्नका लागि धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ परिमार्जन गर्न धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले अर्थ मन्त्रालय पठाएका थिए ।

तर, उक्त नियमावली संशोधनमा पनि ढुंगानाको निहीत स्वार्थ रहेको भन्दै फिर्ता पठाएको फिर्ता पठाइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । नयाँ ब्रोकरलाई लाइसेन्स दिने चर्चासँगै नियामक नेपाल धितोपत्र बोर्डले आफैं सेयर ब्रोकर छान्ने व्यवस्था गर्न लागेको थियो । धितोपत्र बोर्डले आफूले नियमन गर्ने संस्थाले छनोट गरेको कम्पनीलाई लाइसेन्स दिन अलि नसुहाएको भन्दै यो व्यवस्था परिमार्जन गर्न बोर्डका पूर्वअध्यक्ष ढुंगानाले विभिन्न तरिकाबाट लबिङ गरेका थिए । 
 
तथापि, यसमा धितोपत्र बोर्डभित्रै एकमत भने हुन सकेको थिएन । अन्ततः ढुंगानाकै दबाबमा परेर बोर्ड सञ्चालक समितिले उक्त नियमावली परिमार्जनका लागि प्रस्ताव अर्थ मन्त्रालय पठाएको बोर्ड स्रोतको भनाई छ । तर, अहिले उक्त नियामावलीमा कुनै पनि परिर्वतन नगरी यसलाई व्यवहारिक बनाउनु भन्दै अर्थ मन्त्रालयले फाइल र्फिता पठाएको धितोपत्र बोर्ड स्रोतले बतायो । 
 
हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर ब्रोकर छानेर अनुमतिपत्रका लागि मात्र धितोपत्र बोर्डमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । धितोपत्र नियमावली, २०६४ मा नेप्से (धितोपत्र बजार) ले बजारको आवश्यकता अनुसार ब्रोकरको संख्या यकिन गर्ने व्यवस्था छ । नेप्सेले उपलब्ध भौतिक सुविधा, आवश्यकता तथा धितोपत्रको प्रतिस्पर्धी बजार निर्माण पक्षलाई दृष्टिगत गरी थप्नुपर्ने धितोपत्र दलाल र धितोपत्र व्यापारीको संख्या यकिन गर्ने व्यवस्था नियमावलीमा रहेको छ ।
 
ब्रोकर लाइसेन्सका लागि संस्थापक, सञ्चालक तथा कार्यकारी प्रमुखको पूर्ण विवरण, निवेदक कम्पनी वा संगठित संस्थाको विवरण र कागजात आवश्यक हुन्छ । यस्तै, कुनै कम्पनी वा संगठित संस्था धितोपत्र व्यापारीको संस्थापक भए उक्त कम्पनी वा संगठित संस्थाको विवरण र आवश्यक कागजात चाहिन्छ । 
 
यसैगरी, धितोपत्र दलालको स्वामित्व ग्रहण गर्ने व्यक्तिको लगानीको स्रोतसम्बन्धी विवरणलगायत कागजात नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था नियमावलीमा रहेको छ । नेप्सेले तयार पारेको विवरण तथा कागजात जाँचबुझ गर्दा रीतपूर्वक नदेखिए बोर्डले थप विवरण वा कागजात माग गर्न सक्ने व्यवस्था नियमावली रहेकाले पनि सबै अधिकार बोर्ड समक्ष छैन । 
 

Post Your Comment