Market Closed

सेयर बजार भोटिङ मेसिन हो कि तौलिने मेसिन, कसरी बुझ्ने ? स्टक मूल्य किन हुन्छ बारम्बार घटबढ ?

24 Nov,2022
  • voting_machine_11_24_2022_8_09_15.jpg
समिर गौतम 
 
काठमाडौं : सेयर बजार निरन्तर चलायमान हुन्छ । कारोबार भएको दिनभर सेयर मूल्यमा निरन्तर घटबढ भइरहेको हुन्छ । सेयर बजारमा माग र आपूर्तिकै सिद्धान्त प्रयोग हुने भएकाले सेयर भाउको दैनिक घटबढलाई स्वाभाविक रुपमै लिने गरिन्छ । कुनै स्टकको माग बढी र आपूर्ति थोरै छ भने त्यसको भाउ बढ्छ । अनि, माग कम, आपूर्ति धेरै छ भने भाउ घट्छ । तर कतिपय समय मूल्य यति अस्थिर भइदिन्छ कि यसले लगानीकर्तामा भ्रम सिर्जना गरिदिन्छ । सेयर भाउमा आखिर के कारणले परिवर्तन आउँछ त ? यहाँ केही कारणहरुका बारेमा चर्चा गरिएको छ । 
 
सेयर भाउमा परिवर्तन ल्याउने अल्पकालीन कारकहरु 
 
विश्वप्रशिद्ध सेयर विश्लेषक र वारेन बफेटका पनि गुरुको रुपमा चिनिएका बेन्जामिन ग्राहमका अनुसार छोटो अवधि (अल्पकालीन) मा सेयर बजार भोटिङ मेसिन हो भने लामो अवधि (दीर्घकालीन) मा सेयर बजार तौलिने मेसिन हो । अर्थात, अल्पकालीन अवधि (दिन, महिना वा एक वर्ष) मा सेयर भाउ जुनसुकै कारणले पनि परिवर्तन हुन सक्छ । वा, भोटिङमा जस्तै भाउलाई भीडले नै डोर्याएको हुनसक्छ । सेयर भाउमा परिवर्तन ल्याउने प्रमुख अल्पकालीन कारकहरु यस्ता रहेका छन् :
 
आर्थिक कारकहरु 
 
सेयर मूल्यमा ठूलो प्रभाव पार्ने प्रमुख क्षेत्रमध्ये एकमा समग्र अर्थतन्त्रसँग सम्बन्धित तथ्यांक पर्दछ । अर्थतन्त्रका सूचकहरु अपेक्षितरुपमा सकारात्मक छन् कि नकारात्मक छन् भन्ने कुराले सेयरको मूल्य पनि घटाउन वा बढाउन सक्छ । अर्थतन्त्रमा संकुचन वा आर्थिक मन्दीको नकारात्मक असर कम्पनीहरुको आम्दानीमा पनि पर्न सक्छ । जसले सेयर भाउ घटाउन सक्छ । यससँगै, मुद्रास्फीति र ब्याजदरको असर पनि सेयर भाउमा देखिने गरेको छ ।
 
ब्याजदरको वृद्धिसँगै अर्थतन्त्र पनि वृद्धितर्फ गएमा सेयर बजारका लागि सकारात्मक मानिन्छ । यद्दपि, ब्याजर र मुद्रास्फीति उच्च भएमा बजारमा नकारात्मक असर पर्दछ । ब्याजदर न्यून हुँदा भविष्यमा नगद प्रवाह सहज हुने भएकाले सेयर भाउ पनि बढ्ने सम्भावना हुन्छ । तसर्थ, ब्याजदर, मुद्रास्फीति, तरलता लगायत अर्थतन्त्रका सूचकहरुलाई सेयर भाउ भाउमा परिवर्तन ल्याउने आर्थिक कारकहरुको रुपमा लिने गरिएको छ ।
 
राजनीतिक कारक 
 
चुनावी नतिजा, अस्थिर सरकार र संसदीय अनिश्चितता, युद्धलगायत राजनीतिक घटनाहरुले पनि छोटो अवधिमा स्टक मूल्यलाई असर गर्न सक्छ । नेपालमा पनि विगतलाई हेर्ने हो भने चुनावको सेरोफेरोमा सेयर बजार निकै चलायमान वा अस्थिर पनि हुने गरेको छ । कतिपय समय बजार घटेको छ भने कतिपय समय बजार बढेको छ ।
 
 सरकारको नीति तथा कार्यक्रम तथा राजनीतिक दलले बोकेको विचारधाराले पनि बजारलाई असर गर्दछ । विश्व बजारमा हेर्ने हो भने रुस–युक्रेन युद्ध सुरु हुनासाथ सेयर बजारमा ठूलो नकारात्मक असर परेको थियो । यद्दपि, राजीनितक घटनाप्रति बजारको प्रतिकृया निकै छोटो हुने र केही समयपछि ट्रेडर तथा इन्भेष्टरहरुको ध्यान त्यस्ता घटनाबाट मोडिएर नयाँ विषयमा जाने गरेको विगतले देखाएको छ ।
 
प्राविधिक कारणहरु 
 
अल्पकालीन कारोबारीहरु आफ्नो व्यापार निर्णयका लागि प्रायः प्राविधिक विश्लेषणहरुमा भर पर्ने गर्दछन् । प्राविधिक विश्लेषणमा सेयरको वर्तमान ‘प्राइस मुभमेन्ट’ र विभिन्न चार्टहरुको आधारमा भविष्यको दिशा पत्ता लगाउने प्रयास हुन्छ । अल्पकालीन कारोबारीहरुले विभिन्न प्राविधिक सूचकहरुले देखाएको संकेतका आधारमा निश्चित विन्दुमा सेयर खरिद तथा बिक्री गर्ने भएकाले सेयर भाउमा पनि परिवर्तन आउँछ । 
 
सेयर भाउमा परिवर्तन ल्याउने दीर्घकालीन कारकहरु 
 
बेन्जामिन ग्राहमका अनुसार लामो अवधि (दीर्घकालीन) मा सेयर बजार तौलने मेसिन हो । तर यसले आखिर के तौलिन्छ त ? सेयरधनीहरुलाई उपलब्ध हुने नाफा र नगद प्रवाह । छोटो अवधिमा सेयर भाउलाई जुनसुकै कुराले असर गरे पनि दीर्घकालमा सेयर भाउलाई ड्राइभ गर्ने भनेको कम्पनीको नाफा कमाउन सक्ने क्षमता र त्यसले दिने प्रतिफल नै हो । नाफा कमाउने क्षमता र दिने प्रतिफल बलियो भएमा सेयरको भाउ बढ्छ भने कमजोर भएमा भाउ घट्छ । एक लगानीकर्ताको रुपमा तपाईंले पाउने प्रतिफललाई ३ भागमा विभाजन गर्न सकिन्छ ः
 
१) नाफा वृद्धि 
 
लगानीकर्ताको प्रतिफलमा प्रमुख योगदान पुर्याउने भनेको कम्पनीको नाफा वृद्धिले हो । कम्पनीको नाफा बढ्यो भने मात्र लगानीकर्ताले पाउने प्रतिफल पनि बढ्छ । कम्पनीको नाफालाई भने समग्र अर्थतन्त्र र व्यावसायिक परिस्थितिले पनि असर गरिरहेको हुन्छ । तसर्थ, असहज परिस्थितिमा पनि नाफा कमाउन सक्ने क्षमता भएका कम्पनी लगानीकर्ताको रोजाईमा हुनुपर्छ । यता, कम्पनीको नाफा कमाउन सक्ने क्षमताले सेयर भाउमा पनि दीर्घकालीन परिवर्तन ल्याउन सक्छ । नाफा गर्न सक्ने क्षमता कमजोर हुँदा सेयर भाउ घट्न सक्छ भने बलियो हुँदा सेयर भाउ बढ्न सक्छ ।
 
२) लाभांश 
 
लाभांश भनेको कम्पनीको नाफा लगानीकर्तालाई बाँड्ने एक माध्यम हो । कम्पनीले कति लाभांश वितरण गर्न सक्छ भन्ने कुराले पनि सेयर भाउमा परिवर्तन ल्याइरहेको हुन्छ । लाभांश क्षमता उच्च भएका कम्पनीहरुको सेयरको माग पनि बढी हुने गर्दछ । लामो व्यावसायिक यात्रा गरिसकेका परिपक्व कम्पनीहरुले सेयरधनीलाई उच्च लाभांश वितरण गर्ने सम्भावना रहन्छ ।

कतिपय कम्पनीहरुले लाभांश वितरण गर्दैनन् । तर लाभांश वितरण नगर्दैमा कम्पनीको सेयर भाउ घट्छ वा सेयरधनीलाई फाइदा हुँदैन भन्नु गलत हुन्छ । यस्ता कम्पनीहरुले कमाएको नाफा पुनः व्यवसाय वृद्धिका लागि लगानी गरिरहेका हुन्छन् । जसले कम्पनीको ग्रोथ बलियो बनाउँछ ।
 
३) मूल्यांकनमा परिवर्तन 
 
कम्पनीको भावी मूल्यांकनमा परिवर्तन हुँदा पनि सेयर भाउमा असर पुग्दछ । अर्थात, कम्पनीको भविष्यमा प्रदर्शन कस्तो रहन्छ भन्ने बजारको धारणाले पनि सेयर भाउमा असर पुग्छ । कम्पनीको मूल्यांकनका लागि आमरुपमा मूल्य आम्दानी अनुपात (पीइ रेसियो) लाई लिने गरिएको छ ।

उच्च ग्रोथ सम्भावना बोकेका कम्पनीहरुको सेयर उच्च पीई रेसियोमा बिक्री भइरहेका हुन्छन् भने भ्याल्यू स्टकहरुको पीई रेसियो तुलनात्मक रुपमा कम हुने गर्दछ । मूल्यांकनमा भएको परिवर्तनले समयसँगै लगानीकर्ताको प्रतिफलमा पनि ठूलो प्रभाव पार्न सक्छ । सुरुमै उच्च पीई भएका कम्पनीको ग्रोथ सेयरमा लगानी गर्दा प्राप्त भएको प्रतिफल पनि भविष्यमा गुम्नसक्ने सम्भावना पनि उत्तिकै रहन्छ । 
 

Post Your Comment