Market Closed

उपत्यकाको विदामा पूरै देश ठप्प : सेयर लगानीकर्ता पनि चुपचाप बस्न बाध्य, आखिर विदामा किन यस्तो बेमेल ?

19 Mar,2023
  • holiday_3_19_2023_1_32_42.jpg
निराजन सापकोटा 
 
काठमाडौं : काठमाडौं उपत्यकामा दिइने सार्वजनिक बिदाका कारण देशभरका सरकारी निकायका साथै संघसंस्थाहरु प्रभावित हुने गरेका छन् । सरकारले उपत्याकमा मनाइने जात्रा एवं पर्वमा भ्यालीका ३ जिल्लालाई मात्र बिदा दिने गरेको छ । तर प्रायः सबै संघसंस्थाका केन्द्रीय कार्यालय यहीँ रहेको हुँदा अन्य जिल्लालाई भने यसले असर गर्ने गरेको छ। मुख्य कार्यालय नै बन्द भएपछि अन्य शाखाहरु सञ्चाल हुने अवस्था रहँदैन । जसका कारण सर्वसाधारणहरु भने मारमा पर्ने गरेका छन् ।

सरकारले वर्षौदेखि यहाँ मात्र मनाइने पर्व तथा जात्रामा उपत्याकालाई बिदा दिँदै आएको छ । तर उपत्यका बाहिरका कुनै प्रदेशले बिदा दिएमा त्यहाँका कतिपय कार्यालय भने खुला हुने गरेका छन् । हामीले सेयर बजारलाई नै हेर्ने हो भने पनि काठमाडौंमा दिइने सार्वजनिक बिदाका कारण समग्र देशभरकै कारोबार रोकिने गरेको छ । जबकि, सेयर कारोबार हाल अनलाइनबाट गर्न सकिन्छ । ३ जिल्लामा दिइने बिदाले समग्रा अर्थतन्त्रलाई नै असर गर्ने गरेको छ ।

सरकारले थुप्रै रकम राजस्वसमेत गुमाउनु परेको छ । उपत्यका बाहिरका लगानीकर्ताको अधिकार पनि खोसिएको छ । तर पनि यस विषयमा सरकारले ध्यान दिएको देखिदैन् । नेप्सेका प्रवक्ता मुराहरि पराजुली केन्द्र सरकारको निर्णय अनुसार बिदा दिइने हुँदा यो विषय नेप्सेको अधिकार क्षेत्र बाहिरको कुरा रहेको बताउँछन् । उनले भने, ‘यो सेयर मार्केटको मात्र कुरा होइन । यसमा बैंकिङ सिस्टम पनि सामेल हुन्छ । काठमाडौंको बिदा केन्द्रीय सरकारको नियम अनुसार हुन्छ, यसलाई हामीले पनि पालना गर्नुपर्ने हुन्छ । हामीले मात्र नभएर अरु निकायले पनि पालना गर्नुपर्ने हुन्छ । यही कारण नेप्से पनि बन्द हुने हो।’ 
 
नेप्सेले बिदाको समय कारोबार खुला गर्न नसक्ने उनले बताए । ‘बैंकलाई नेप्सेले आदेश दिएर कारोबार खुला गर भन्न सक्दैन । कि त केन्द्र सरकारले भन्नु पर्यो कि त राष्ट्र बैंकले भन्नुपर्यो । हामीले ब्रोकरहरुलाई मात्र भन्न सक्छौ अरु कसैलाई पनि पनि निर्देशन दिन सक्दैनौ’, उनले भने ।  
 
यता, सरकारले २०८० सालमा ३५ दिन सार्वजनिक बिदा दिने भएको छ । ३६५ दिनलाई आधार मान्ने हो भने १०४ दिन शुक्रबार र शनिबार पर्न जान्छ ।  त्यसमा ३५ दिन थप बिदा भएपछि कुल १३९ दिन सेयर कारोबार बन्द हुने भयो । अर्थात, २२६ दिन मात्र सेयर बजार खुल्ने देखिन्छ । त्यसमाथि सरकारले केही प्रिय अवस्था वा अप्रिय घट्ना घट्यो भने पनि अचानक बिदा दिने गरेको छ । 
 
सार्वजनिक बिदा धेरै भयो भनेर पछिल्ला दिनमा सर्वसाधारणबाट चर्को आलोचना भइरहेको छ । एक दिन मात्र सार्वजनिक बिदाका कारण सरकारलाई अरबौ रुपैयाँ घाटा हुने गर्छ । तर पनि सार्वजनिक बिदा घटेको छैन् । त्यसमाथि काठमाडौं उपत्यकामा मात्र बिदा हुँदा पूरै देशभरका सबै कार्यालय प्रभावित हुने गरेका छन् ।

केही दिन अघि राष्ट्र बैंकले भने तोकिएको दिन बाहेकका बिदामा पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन जारी गरेको थियो । यस अवस्थामा बैंक मात्र खुल्ला भए पनि यो समस्याको समाधान हुने भने देखिँदैन । किनकि सरकारी कार्यालय नै बन्द भएपछि काम अघि बढ्ने सम्भावना नै रहेन । 
 
सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल तोकिएको दिनमा कारोबार अनिवार्य रुपमा हुनुपर्ने व्यवस्था गरिनुपर्ने बताउँछन् । उनले भने, ‘अन्तराष्ट्रिय अभ्यासमा पनि देशैभरका सार्वजनिक बिदा भएको समय मात्र त्यहाँको स्टक मार्केट रोकिन्छ । हामीले पनि इन्टरनेसनल अभ्यास अनुसार काम गर्दा राम्रो हुने थियो।’ 
 
हाल सबैजस्तो निकायका मुख्य कार्यालय काठमाडौंमा भएकाले पनि विदामा बाहिरका लागि समस्या भएको उनले बताए ।  ‘काठमाडौं उपत्यकामा मात्र बिदा हुँदा पनि बाहिर कारोबार गर्न पाउनुपर्ने हो । हाम्रो एउटा मात्र स्टक एक्सचेन्ज छ। सबै प्रविधिहरु काठमाडौंमा मात्रै केन्द्रित छन् ।

एउटा विराटनगर, एउटा महेन्द्रानगरमा भएको भए त्यताको सिस्टम पनि चल्न सक्दथ्यो। तर उपत्यकामा बिदा हुँदा त्यहाँका कर्मचारी पनि बिदामा हुन्छन् । हाम्रोमा पूर्ण अटोमेटिक सिस्टम पनि छैन् । कतिपय म्यानुअल हिसाबमा आफैँ धाउनुपर्ने बाध्यता पनि छ’, उनले भने ।

Post Your Comment