Market Closed

अजोड इन्सुरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन, यसरी परिरहेको छ आवेदन

13 Jul,2020
  • ipos_n_7_13_2020_8_52_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : अजोड इन्सुरेन्सको आइपीओ भर्ने आज सोमबार (असार २९ गते) अन्तिम दिन हो । लगानीकर्ताले सोमबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । यस आइपीओमा माग भन्दा बढी आवेदन परिसकेकाले निर्धारित पहिलो चरणकै समयमा बिक्री बन्द गर्न लागिएको हो । यसमा आक्रमक रुपमा आवेदन पर्ने क्रम जारी छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्ममा यस आइपीओमा ४ लाख १ हजार ५०२ जनाले  १ करोड ४७ लाख ८५ हजार १५० कित्ताका लागि आवेदन दिइसकेका छन् ।

१ अर्ब ४७ करोड ८५ लाख १५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको २७ लाख ३० हजार कित्तालाई आधार मान्दा ५।४१ गुणा बढी आवेदन हो । अजोड इन्सुरेन्सले असार २५ गतेबाट ३० करोड रुपैयाँको आइपीओ खुला गरेको  हो । कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । अजोडले कुल ३० लाख कित्ता आइपीओमध्ये ४% अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५% अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा आस्वा सदस्य भएका सबै बैंक तथा वित्तीय संस्थाबाट यसमा आवेदन दिन सकिनेछ । मेरो सेयरबाट पनि सेयर भर्न पाइनेछ । यो आइपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
 
अजोडको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
 
 

Post Your Comment