Market Closed

एसियन लाइफको २ लाख २१ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम अवसर, कति तिर्ने ?

23 Jun,2019
  • auction_img_6_23_2019_10_25_19.png
नेपाली पैसा 
 
काठमाडौं : एसियन लाइफ इन्सुरेन्सको २ लाख २१ हजार ३५९.७३ कित्ता सेयर लिलामी भर्ने आइतबार (असार ८ गते) अन्तिम दिन हो । एसियनको लिलामी सेयर असार १ गतेदेखि लिलामी खुला भएको हो । लिलामी भर्दा कति रुपैयाँ प्रस्ताव गर्ने भन्नेमा आम लगानीकर्ता अन्योल र दुविधामा रहेको हुन्छन् । सामान्यतयः बजार भाउलाई ख्याल गरेर लिलामी भर्ने गरिन्छ ।
 
दोस्रो बजारमा कायम भाउ भन्दा केही तल मूल्य राखेर लिलामी आवेदन दिनु उचित हुन सक्छ । बिहीबार नेप्सेमा एसियन लाइफको ३८८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यही मूल्यलाई ध्यान दिएर लिलामी भर्नुपर्नेछ । यसबाहेक दोस्रो बजारको अवस्था, लिलामीमा ल्याइएको सेयर कित्ता अनि आवेदकको संख्या समेत विचार गरेर लिलामीमा मूल्य तोक्नु प्रभावकारी हुन्छ । 
 
कम्पनीले संस्थापक समूहको २ हजार ४२०.७० कित्ता र सर्वसाधारण समूहको २ लाख १८ हजार ९३९.०३ कित्ता सेयर लिलामीमा ल्याएको हो । संस्थापक समूहमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ताका लागि अवेदन दिन पाइनेछ । अधिकतम १० अंकले भाग जाने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
 
एसियनले गत चैत २५ गतेदेखि वैशाख २९ गतेसम्म ६०% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर अहिले लिलामी प्रक्रियामा ल्याएको हो । लगानीकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । एनआइबीएल एसको लाजिम्पाट, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर कार्यालयबाट आवेदन भर्न सकिनेछ ।
 
यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय नारायनगण, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि फारम बुझाउन सकिनेछ । बाग्लुङमा भने ग्रीन डेभलपमेन्ट बैंकमा गएर आवेदन दिन सकिनेछ । 

एसियन लाइफ इन्सुरेन्सको लिलामी सेयर सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment