माथिल्लो चमेलियाको भयो विद्युत खरिदबिक्री सम्झौता, प्रतिमेगावट लागत कति ?

28 Feb,2019
  • upper_hamilaya_2_28_2019_12_00_45.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल विद्युत प्राधिकरण र अपि पावर कम्पनीबीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता भएको छ । सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेले हस्ताक्षर गरेका छन् ।

प्रदेश ७ को दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका योे अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यसअघि कम्पनीले ८.५ मेगावाट क्षमताको नौगाड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ३ वर्ष देखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।
 
कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजना अपर नौगाढ गाड जलविद्युत आयोजना (८.०) को निमाणर््ा पूरा गरी आगामी चैत मसान्तभित्र विद्युत उत्पादन सुरु हुनेछ । यस कम्पनीले सम्पन्न गरेका आयोजनाहरु नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको अत्तरिया–बलाँच १३२ के.भि.डवल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ । 
 
यो अपर चमेलिया जलविद्युत आयोजनाबाट (४० मेगावाट) वार्षिक २६.४१ करोड युनिट विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युतमध्ये ३३ प्रतिशत हिउँदका ६ महिनामा र बाँकी ६७ प्रतिशत वर्षात महिनाहरुमा उत्पादन हुनेछ । यो आयोजना टेक र पे मा आधारित छ । कम्पनीले २०७६ सालबाट निर्माण सुरु गरेर ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । 
 
अहिले निर्माणाधीन अधिकांश जलविद्युत आयोजना ट्रान्समिसन लाइन अभावले समस्याग्रस्त बन्दै गएका छन । सुदूरपश्चिममा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ के.भि.डबल सर्किट ट्रान्समिसन लाइनमा जडान हुने भएकाले विद्युत प्रवाहको कुनै समस्या नरहेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बताए ।

यस आयोजनाको निर्माण पश्चात् प्रदेश ७ मा विद्युत आपूर्ति बढ्न गई भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । यो आयोजना विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको बहुचर्चित चमेलिया जलविद्युत विद्युत गृह भन्दा १५ किलोमिटर माथि अवस्थित छ । यस आयोजनाको लागत प्रतिमेगावाट १८ करोड रुपैयाँ छ । आयोजनाको कुल लागत ७ अर्ब २० करोड हुने अनुमान छ । 
 

Post Your Comment