एउटा यस्तो पब्लिक कम्पनी जसको वित्तीय विवरण आउँदैन, साधारण सभा हुँदैन अनि सेयर कारोबार पनि खुल्दैन

05 Jul,2017
  • bishal-bazar_7_5_2017_6_10_44.jpg
एलिजा उप्रेती
 
काठमाडौं : विशाल बजार कम्पनीले झन्डै दुई वर्षदेखि लगानीकर्ताको सेयर बन्धक बनाएको छ । विशाल बजारको चरम लापरबाहीका कारण यसका सेयरधनीहरु चरम मारमा परेका छन् । यो कम्पनीले लामो समयदेखि नियमित वार्षिक साधारण सभा गरेको छैन । यतिमात्र होइन, सूचीकृत कम्पनीले प्रत्येक त्रैमासमा सार्वजनिक गर्नुपर्ने वित्तीय विवरण पनि प्रकाशन गर्न छाडेको छ । विशाल बजारले ३ वर्षयता वार्षिक साधारणसभा गर्न सकेको छैन । कानुन बमोजिम साधारण सभा नै नबोलाएपछि केही दिन अघिमात्र पाटन उच्च अदालतले विशाल बजारलाई साउन मसान्तसम्म वार्षिक साधारण सभा गर्न आदेशसमेत दिइसकेको छ । कम्पनीकै सेयरधनीले नियमित साधारण सभा नगरेको भन्दै मुद्दा दायर गरेपछि त्यस सम्बन्धमा अदालतको निर्देशन आएको हो । सेयरधनीहरु सुजन दत्त, विनय श्रेष्ठ र सुनिल कुमार शाक्यले वार्षिक साधारण सभा नगरेको अनि वित्तीय अवस्था पनि सार्वजनिक नगरी कानुन विपरीत चलिरहेकाले तत्काल साधारण सभा गराउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । अदालतको आदेशसँगै अब वार्षिक साधारण सभा गराउनुपर्छ भनेर कम्पनी तातेको विशाल बजार कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिलिपजंग शाह बताउँछन् ।
 
विशाल बजार कम्पनीको लामो समयदेखि दोस्रो बजारमा सेयर कारोबार समेत रोक्का भइरहेको छ । नेप्सेको रेकर्ड अनुसार २०७२ पुसपछि सेयर कारोबार भएको छैन । नेप्सेमा यस कम्पनीको २०७२ पुसमा अन्तिम कारोबार प्रतिकित्ता २ हजार ३० रुपैयाँका दरले भएको देखिन्छ । यसआधारमा यो कम्पनीको सेयर भाउ तुलनात्मकरुपमा महँगो छ । दोस्रो बजारबाट महँगो भाउमा सेयर किनेका लगानीकर्ता अझै बढी मारमा परेका छन् । लामो समयसम्म सेयर कारोबार रोकिंदा लगानीकर्ताको सम्पति किनबेच गर्न पाउने हक खोसिएको छ । सेयर कारोबार खुला हुन कम्तीमा १० प्रतिशत सेयर अभौतिकीकरण गर्नुपर्ने हुन्छ । विशाल बजार कम्पनीले आफ्नो कुल सेयर संख्याको १० प्रतिशत अभौतिकीकरण (डिम्याट) नगराउँदा कारोबार रोकिएको बताएको छ । यस कम्पनीको ४ करोड ९१ लाख ४० हजार रुपैयाँको ४ लाख ९१ हजार ४ सय कित्ता सेयर नेप्सेमा सूचीकृत छ । अहिले यो सबै सेयरको कारोबार रोकिएको अवस्था हो । 
 
तर प्रमुख कार्यकारी अधिकृत शाह भने कम्पनीको लापरवाहीले सेयर कारोबार रोकिएको मान्न तयार छैनन । उनी यसलाई उल्टै सेयरहोल्डरहरुकै लापरवाही भएको दाबी गर्छन् । कम्पनीका ठूला सेयरहोल्डर (संस्थागत लगानीकर्ता) ले समयमै सेयर डिम्याट नगरिदिंदा समस्या आएको उनी बताउँछन् । उनी भन्छन, ‘हाम्रो ठूला लगानीकर्ता नेसनल ट्रेडिङ र खाद्य संस्थान हो । पटकपटक सूचना जारी गर्दा पनि यी संस्थाले आफ्ना स्वामित्वमा रहेका सेयर डिम्याट गरिदिएनन् । बारम्बार लिखित र मौखिक ताकेता गर्दागर्दै पनि उनीहरुले सेयर डिम्याट गर्न चासो नदेखाएपछि १० प्रतिशतसम्म सेयर डिम्याट हुन नसकेको हो । यही कारण सेयर कारोबार बन्द भयो ।’  
 
उता, नेप्सेका प्रवक्ता मुराहरि पराजुली पनि विशाल बजारको सेयर कारोबार रोकिनुमा डिम्याट नहुनु नै मुख्य कारण रहेको बताउँछन् । ‘कारोबार खुल्नका लागि सम्बद्ध कम्पनीको कम्तीमा पनि १० प्रतिशत सेयर अभौतिकीकरण गर्नुपर्ने हुन्छ । तर यस कम्पनीले हालसम्म पनि १० प्रतिशत सेयर डिम्याट गरेको छैन्,’ उनले भने । कम्पनीका कार्यकारी प्रमुख शाहले भने अब सेयर डिम्याट गर्नेको संख्या १० प्रतिशत नजिक पुग्न लागेकाले चाँडै कारोबार खुल्ने  आश्वासन दिए । यो कम्पनी बारम्बार विवादमा मुछिने गरेको छ । सञ्चालकको बदमासी, सेयर कारोबार बन्द त कहिले समयमै बार्षिक साधारणसभा नगरेर आमलगानीकर्ताको अधिकारलाई कुण्ठित गरिरहेको छ । पछिल्ला गतिविधि अध्ययन गर्दा विवाद सामाधान भन्दा पनि यस्ता समस्याहरु बढ्दोक्रममा देखिएका छन् ।  
 
 २०२६ सालमा स्थापना भएको विशाल बजार कम्पनी नेप्सेको व्यापार समूह अन्तर्गत पर्छ । डेढ वर्षदेखि बर्षदेखि कारोबार रोक्का हुँदा पनि नियामक नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जले समस्या समाधानमा ध्यान दिएको देखिंदैन । एक हिसाबले यसमा नियामक बेखबर जस्तै देखिन्छ । लगानीकर्ताको करोड रुपैयाँ बन्धक बनाइरहँदा पनि अहिललेसम्म प्रभावकारीरुपमा कारवाही प्रक्रिया अघि बढेको देखिंदैन । लगानीकर्ताले राहत अनुभव गर्न पाएका छैनन् । यसबाट बदमासी गर्नेलाई थप प्रश्रय मिलिरहे जस्तो देखिन्छ । कम्पनीको आर्थिक गतिविधि पारदर्शी छैन । यसले आफ्नो नाफा–नोक्सानको हिसाबकिताब लगानीकर्तालाई देखाउन सकेको छैन । यसतर्फ नियामकको कहिले जाला ध्यान ? 
 
 
 

Post Your Comment