Market Closed

बेष्ट फाइनान्सको ८ लाख २ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

11 Sep,2019
  • best_2_8_2018_3_13_53_7_24_2018_11_48_55_9_11_2019_9_59_19.jpg
नेपाली पैसा 
 
काठमाडौं  : बेस्ट फाइनान्सको ८ लाख २ हजार २२४.४७ कित्ता सेयर लिलामी भर्ने बुधबार (भदौ २५ गते) अन्तिम दिन हो ।  आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले भदौ ११ गतेबाट २ लाख ४४ हजार ५४९.९० कित्ता सर्वसाधारण समूह र ५ लाख ५७ हजार ६७४.५७ हजार कित्ता संस्थापक गरी कुल ८ लाख २ हजार २२४.४७ कित्ता लिलामीमा ल्याएको हो । 
 
सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ता र संस्थापकतर्फ १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । बेस्टको मंगलबार नेप्सेमा प्रतिकित्ता ९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । लगानीकर्ताले बजार भाउलाई आधार मानेर लिलामी भर्ने गर्छन् । तर बेस्टको बजार भाउ १०० रुपैयाँभन्दा कम भए पनि लिलामी सेयर भने १०० रुपैयाँलाई न्यूनतम आधार मानेर भर्नुपर्ने हुन्छ । अर्थात् प्रतिकित्ता १०० रुपैयाँभन्दा कम भाउ राखेर लिलामी आवेदन दिन पाइनेछैन । मूल्य नबढाई लिलामी भर्दा पनि कम्तिमा १०० रुपैयाँ तोक्नैपर्ने हुन्छ । 
 
बजार भाउ नै १०० सय रुपैयाँ भन्दा कम रहेका बेला बेस्टको लिलामी सेयर बिक्री हुन कठिन देखिएको छ । सामान्यतयः बजार भाउ भन्दा कममा लिलामी सेयर पाइने गर्छ । लिलामी भर्नुको प्रमुख कारण पनि यही हो । तर यसको बजार भाउ अंकित मूल्य भन्दा कम छ । ९१ रुपैयाँ हाराहारीमा बजारमा पाइने भएपछि १०० वा सो भन्दा बढी मूल्य तिरेर लिलामी भर्नेहरु भेटाउन मुष्किल पर्ने अनुमान गर्न सकिन्छ । 
 
यसमा अधिकतमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा बेस्ट फाइनान्सको केन्द्रीय कार्यालय काठमाडौंसहित यसका शाखा कार्यालय बुटवल, नेपालगंज, दाङ तथा पोखराबाट पनि लिलामी भर्न सकिनेछ ।
 
यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, सुर्खेत, धनगढी, बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणगढ, बाग्लुङ र महेन्द्रनगर शाखाबाट बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले यसअघि ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । नबिकेको सेयर अहिले लिलामीमा ल्याइएको हो । 
 
यता, बेस्टले सिनर्जीलाई १ः१ स्वाप रेसियोमा सिनर्जी फाइनान्सलाई एक्वायर गरी २०७५ साउन १७ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ । एक्विजिसनपछि यसको चुक्ता पुँजी ८१ करोड १६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको चौथोे त्रैमासमा बेस्टले ८ करोड १७ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

बेस्ट फाइनान्सको यहाँबाट पढ्नुहोस् वित्तीय विवरण
 

Post Your Comment