साधारण सभा अब यिनीहरुले कहिले गर्छन् ? लाभांशको छैन पत्तो

25 Feb,2018
  • agmmm_2_25_2018_7_08_59.png
सोभित थपलिया 
 
काठमाडौं : आर्थिक वर्ष सुरु भएको ७ महिना बितिसक्दा पनि २ दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थाले साधारण सभा गर्न सकेका छैनन् । ७ वटा वाणिज्य बैंक, ९ वटा डेभलपमेन्ट बैंक, ६ वटा फाइनान्स कम्पनी र २ वटा माइक्रोफाइनान्सले फागुनको मध्यसम्म आइपुग्दा पनि साधारण सभा गर्ने सुरसार देखाएका छैनन् । यसबाहेक हाइड्रोपावर, बिमा लगायत अन्य क्षेत्रका कम्पनीहरु पनि साधारण सभा नगर्नेको सूचीमा छन् । 
 
हरेक कम्पनीले एक आर्थिक वर्षमा गरेका प्रगति विवरण, लाभांश र अन्य महत्वपूर्ण एजेन्डा पारित गराउन साधारण सभा गर्नुपर्ने हुन्छ । सर्वसाधारण सेयरधनी जम्मा हुने, उनीहरुका कुरा सुन्ने अनि सेयरधनीलाई कम्पनीको प्रगति र भावी रणनीतिका बारेमा जानकारी गराउने साझा थलोका रुपमा वार्षिक साधारण सभालाई लिने गरिन्छ । 
 
प्रत्येक आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र पब्लिक कम्पनीहरुले वार्षिक साधारण सभा बोलाइसक्नुपर्ने कानुनी व्यवस्था छ । तर व्यवहारमा अझै दर्जनौं कम्पनीले साधारण सभा बोलाउने सुरसार नै देखाएका छैनन् । कतिपय कम्पनीले त गत आर्थिक वर्षमा आर्जन गरेको नाफाबाट लगानीकर्तामा बाँडिने लाभांशसमेत घोषणा नगरेको पाइएको छ ।


 
कम्पनीहरुले समयमा नै साधारण सभा नगर्दा सेयर लगानीकर्ताहरुले हैरानी व्यहोर्नु परेको छ । समयमा साधारण सभा नभएको कारण लगानीकर्ताहरुले पाउनुपर्ने लाभांश समयमा नै पाउनबाट बञ्चित भएका छन् । तोकिएको समयमा लाभांश प्रस्ताव गरी साधारण सभा नगर्ने कम्पनीहरुमाथि नियामकले पनि खासै कारवाही गरेको पाइँदैन । यसबाट लगानीकर्तालाई निकै ठूलो क्षति भएको छ । 
 
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेलले पब्लिक कम्पनीहरुले समयमा साधारण सभा नगर्दा लगानीकर्ताले पाउने प्रतिफलबाट बञ्चित हुने बताए । उनले भने, ‘समयमा नै साधारण सभा नभएको खण्डमा अघिल्लो वर्षको अवस्था पनि थाहा पाउन सकिँदैन, यसले दोस्रो बजारमा प्रत्यक्ष असर पार्छ ।’ कम्पनीप्रति लगानीकर्ताहरुको सोच सकारात्मक नहुने भएकाले समयमा नै साधारण सभा गर्नुपर्ने उनको भनाई छ । 
 
राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन नसक्ने वा अन्य कारणले केही बैंक तथा वित्तीय संस्थाले पुस मसान्तसम्म पनि साधारण सभा गर्न नसकेको समेत बताइन थालेको छ । साभारण सभा नहुँदा सेयर होल्डरले नगद लाभांश, बोनस सेयर हात पार्न पनि ढिलाई भएको छ । राष्ट्र बैंकले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारित समयमा साधारण सभा गर्न नसकेको खण्डमा कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, ‘मनासिब कारणबिना पुस मसान्त भित्र साधारण सभा नगर्ने बैंक तथा वित्तीय संस्थाहरु माथि कारवाही गरिनेछ ।’ तर साधारण सभा गर्न नसक्नुको उचित र मनासिब कारण खुलाइएमा भने २ महिनासम्म समय थप्न सकिने उनको भनाई छ । लेखा परीक्षण गर्न नभ्याएको वा यसमा केही कैफियत देखिएको लगायतका कारण पुष्टि भएमा दुई महिनासम्म समय थप्न सकिने प्रवक्ता पौडेल बताउँछन् । समयमा नै साधारण सभा नसक्ने भए ती संस्थाले नियामकसँग समय माग गर्नुपर्ने पौडेलेले बताए ।
 

Post Your Comment