Market Closed

सेन्चुरी बैंकको खुद नाफा ९.०६% ले घट्दा वितरण योग्य नाफा कति ?

13 May,2019
  • Century-commercial-bank-Ltd_8_15_2018_11_57_40.jpg
नेपाली पैसा
 
काठमाडौं : सेन्चुरी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६१ करोड ६ लाख ७१ हजार खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष यसै अवधिमा ६७ करोड १५ लाख २६ हजार रहेको खुद नाफा अहिले ९.०६% ले घटेको हो । बैंकको वितरण योग्य नाफा ३४ करोड ५९ लाख ९६ हजार रुपैयाँ मात्र रहेको छ ।
 
सेन्चुरीको खुद ब्याज आम्दानी ४५.२६% ले वृद्धि भएको छ । गत वर्ष १ अर्ब ३५ करोड ७३ लाख ७२ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बढेर १ अर्व ९७ करोड १७ लाख २१ हजार रुपैयाँ पुगेको छ । यस्तै, गत वर्ष ९३ करोड ६६ लाख ४४ हजार रहेको सञ्चालन नाफा चैत मसान्तसम्म आइपुग्नदा ६.७५% ले घटेर ८७ करोड ३३ लाख ७१ हजार रुपैयाँमा आएको छ ।
 
तेस्रो त्रैमाससम्म सेन्चुरीले ५७ अर्ब ८२ करोड ३३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ३९ करोड ९३ लाख ६४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप संकलन र कर्जा लगानी गत वर्षको भन्दा क्रमशः २२.८८% र १९.७४ % ले वृद्धि गरेको हो । 
 
बैंकको खराब कर्जा पनि ०.७६% बाट बढेर १.५३% पुगेको छ । कस्ट अफ फन्ड ८.४७% र बेस रेट ११.३२% रहेको छ । गत वर्ष सेन्चुरीको कस्ट अफ फन्ड ८.८८% र बेस रेट १२.०६% रहेको थियो । कर्जा निक्षेप अनुपात ७९.७९% देखिन्छ । चुक्ता पुँजी ८ अर्ब २५ करोड ४ लाख ६२ हजार रुपैयाँ रहेको यो बैंकको जगेडा कोषमा १ अर्ब १८ करोड २८ लाख १३ हजार रुपैयाँ छ । 
 
यस्तै, यसको रिटेन्ड् अर्निङ ८२ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको छ । पुँजी वृद्धि अनुपातमा रिजर्भ कोष कमजोर देखिएको हो । यसैगरी, प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ १० पैसाबाट घटेर ९ रुपैयाँ ८७ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ८६ पैसा छ ।

Post Your Comment