Market Closed

सेयर बजारमा कहिले आउँछ मार्केट मेकर, नागरिक लगानी कोष के गर्दैछ ?

12 Dec,2018
  • market_maker_12_12_2018_8_51_41.png
सोभित थपलिया
 
काठमाडौं : नागरिक लगानी कोषले मार्केट मेकरको काम गर्नका लागि सहायक कम्पनी खोल्नुपर्ने भएको छ । धितोपत्र बोर्डले कोषलाई मार्केट मेकर (बजार निर्माता) को काम गर्नका लागि सहायक कम्पनी खोल्न निर्देशन दिएको हो । बोर्डको सोही निर्देशन अनुसार सहायक कम्पनी खोलेर काम अघि बढाउने तयारी भइरहेको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले बताए ।
 
नेपाली पैसासँगको कुराकानीमा उनले भने ‘धितोपत्र बोर्डले सहायक कम्पनी खोलेर मात्र काम अघि बढाउनु भनेको छ । म आएको भर्खरै हो, अब केही समयमा नै कम्पनी खोल्ने छौं र बाँकी काम अघि बढाउने छौं ।’ यो काम अलि चुनौतीपूर्ण रहेकाले बोर्डले कोषलाई सहायक कम्पनी खोल्न भनेको हो ।

अब बोर्डको निर्देशन अनुसार अघि बढ्ने उनको भनाई छ । अहिले कोषले सामाजिक सुरक्षाको काम गरिरहेको छ । जनताले जम्मा गरेको पैसा सीधै सेयर बजारमा लगाउन समस्या हुने भएको सहायक कम्पनी आवश्यक पर्ने उनको भनाई छ । 
 
‘कोषले सहायक कम्पनी खोल्नका लागि आवश्यक प्रबन्धपत्र, नियमावली बनाएर प्रकृया सुरु गर्नेछ’ नेपालले भने ‘म आएको पनि धेरै समय भएको छैन, यो विषयमा अझ गम्भीर रुपमा बुझ्न र अध्ययन गर्न पनि आवश्यक छ।’
 
धितोपत्र बोर्डले पनि गत बिहीबार मात्रै मार्केट मेकर भित्र्याउने काम कहाँ पुग्यो भनेर नेप्सेसँग जानकारी मागेको छ । अनलाइन प्रणाली आइसकेको परिप्रेक्षमा मार्केट मेकरको काम अघि बढाउनुपर्ने बोर्डको तर्क छ । नेप्सेले ल्याएको नयाँ अनलाइन सिस्टममा मार्केट मेकरको काम गर्न सकिने सुविधा पनि छ । 
 
यसका लागि एउटा विन्डो दिने र त्यसैबाट मार्केटर मेकरले आफ्नो काम गर्न सक्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । यो कामका लागि नेप्सेको सिस्टम तयारी अवस्थामा रहेको उनको भनाई छ । आर्थिक वर्ष २०७२०–७३ को बजेटमा नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा बजारमा परिचालन गर्ने भनिएपछि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।

त्यो कार्यदलले कोषलाई कसरी काम गर्न दिने भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पारी बोर्डका अध्यक्षलाई बुझाइसकेको छ । प्रतिवेदनमा यसको कार्यान्वयनका लागि कोष र नेप्सेले आवश्यक तयारी गर्दै जाने उल्लेख छ । अहिलेको अवस्थामा नेप्सेले भने आफ्नो तयारी सकिसकेको जनाएको छ । 
 
मार्केट मेकर आउन सकेमा अहिले निकै उतार चढाव अवस्थामा रहेको सेयर बजारलाई केही हदसम्म सन्तुलनमा ल्याउने लगानीकर्ताको अपेक्षा रहेको छ । कर्मचारी सञ्चयकोष, नेपाल दूरसञ्चार कम्पनी, बिमा संस्थान र नागरिक लगानी कोषको संयुक्त लगानीमा बजार निर्माता कम्पनी सञ्चालन गर्न लागिएको हो । अहिले ब्रोकरले मात्र कारोबार गर्ने गरेका छन् । डिलर तथा बजार निर्मार्ताले सेयर कारोबार गर्ने सिस्टम छैन । 
 
नेपालमा लगभग १२ वर्ष अघि पनि मार्केट मेकर सञ्चालनमा ल्याइएको थियो । त्यो समयमा व्यवस्थापकीय कमजोरीका कारण बन्द भएको हो । मार्केट मेकरको काम सुरु गरेपछि रियल टाइममा सेयर किनबेच गर्न सक्नुपर्छ । २०५८ साल अघि तत्कालीन एनएमबि फाइनान्स (हालको एनएमबि बैंक), राष्ट्रिय बाणिज्य बैंक लगायतले पनि मार्केट मेकरको काम गरेका थिए । तर अहिले यी संस्था बजार निर्मार्ताका रुपमा अस्तित्वमा छैनन् । 
 

Post Your Comment