Market Closed

नागरिक लगानी कोषमा खर्च कटौती अभियान, कसको घट्यो भत्ता ?

14 Feb,2019
  • CIT-img_new_2_14_2019_4_22_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : नागरिक लगानी कोषले दैनिक कार्य सञ्चालन प्रक्रियामा मितव्ययी बनाउने अभियान थालनी गरेको छ । यसै सन्दर्भमा कोषको विद्यमान विभिन्न समिति तथा उपसमितिका संख्याहरु घटाउनुका साथै भत्ता रकम समेत कटौती गरिएको छ ।

यस अघि सञ्चालक समितिका सदस्य संयोजक एवं सदस्य रहेका प्रत्येक समिति तथा उपसमितिहरुमा सबै सदस्यलाई सञ्चालक सरह भत्ता दिने गरिएकोमा अबदेखि कोषका कर्मचारी सदस्यहरुको भत्ता प्रतिव्यक्ति १ हजार रुपैयाँ कटौती गरिएको छ ।

यसैगरी, गैर कार्यकारी सञ्चालक तथा कोष बाहिरबाट प्रतिनिधित्व गर्ने व्यक्ति सदस्य नरहेका समिति एवं उपसमितिहरुको बैठक भत्ता पनि नरहने व्यवस्था गरिएको छ । यो सँगै कोषले खर्चमा मितव्ययीता ल्याउन कोष सञ्चालक समितिका अध्यक्षले पाउने इन्धन सुविधामा प्रतिमहिना २०० लिटरबाट घटाएर अब १७५ लिटर मात्र कायम गरिएको कोषले जनाएको छ ।

नागरिक लगानी कोषले क्रमशः खर्चमा मितव्ययीता कायम गर्दै सुरक्षित, मुनाफामुखी तथा दीगो लगानी व्यवस्थापन गर्नेछ । यसबाट सेवाग्राहीलाई थप प्रतिफल प्रदान सहयोग पुग्ने कोषको विश्वास छ । दैनिक कार्य चुस्त र प्रभावकारी बनाउनका लागि सेवाग्राहीका गुनासो तत्काल सम्बोधन गर्ने नीति लिइएको नागरिक कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । 

सेवाग्राहीको समस्या समाधानका लागि हेल्प डेस्क, सोधपुछ कक्ष, सूचना कक्ष तथा सुझाव पेटिकाको व्यवस्था गरी प्राप्त गुनासो, सुझाव तथा जानकारीलाई तत्काल समाधान गर्न पहल सुरु गरिएको उनले बताए । आगामी दिनमा ग्राहकमैत्री सेवा अझ प्रभावकारी बनाइने समेत कोषले भनेको छ । 
 

Post Your Comment