नेपाली पैसा
काठमाडौं : गरिमा विकास बैंकले माघ ३० गते साधारण सभा बोलाएको छ । सभामा बैंकले १४.२१% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट १३.५०% बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७१% नगद लाभांश वितरण गर्न लागेको हो । यसर्थ, बैंकले ४३ करोड ७२ लाख २३ हजार ७२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।
यस्तै, २ करोड ३० लाख ११ हजार ७४० रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश बाँड्नेछ । सभा होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा बिहान १०.३० बजेबाट सुरु हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गर्नेछ ।
सभामा लेखापरीक्षक नियुक्त गर्ने, चुक्ता पुँजी वृद्धि हुने भएपछि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश गरिदैछ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा नोक्सानमा सम्बन्धमा पनि छलफल हुनेछ । सभा गर्न बैंकले माघ १२ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । माघ ११ गतेसम्म कायम रहने सेयरधनी लाभांशको हकदार हुनेछन् ।