Market Closed

गरिमा विकास बैंकलाई आधारभूत र प्राविधिकरुपमा हेर्दा कस्तो देखिंदैछ समग्र अवस्था ?

21 Feb,2021
  • garima_photo_8_13_2019_8_22_12_12_27_2020_10_24_46_1_15_2021_9_19_40_1_24_2021_9_17_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले २१.९१ प्रतिशतले नाफा वृद्धि गरेको हो ।  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ६ करोड ८० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको यसैअवधिमा गरिमाले ३२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी ६८ लाख २६ हजारबाट १३१ प्रतिशतले बढेर २१ करोड २८ लाख पुगेपछि पछि बैंकको नाफा बढ्न सकेको हो ।

यस अवधिसम्ममा वैधानिक रिजर्भमा ८ करोड २६ लाख तथा नियामक रिजर्भमा ५ करोड ८५ लाख रुपैंया छुट्याएपछि बैंकको वितरण योग्यमुनाफा २५ करोड २३ लाख रुपैयाँ रहेको छ । बैंकको खुद ब्याज आम्दानी ८४ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ८० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहको थियो । त्यस्तै, खुद ब्याज, फि तथा कमिसन शीर्षक ५.८० प्रतिशतले बढेर ९७ करोड २७ लाख ५६ हजार रुपैयाँबाट १ अर्ब २ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

अन्य सञ्चालन आम्दानी २१ करोड २८ लाख रुपैयाँ रहेको छ भने जोखिम व्यवस्थापन कोष अन्तर्गत १८ करोड ४८ लाख ७५ हजार रुपैयाँ इम्पेरिमेन्ट चार्जमा राखेको छ । खर्चतर्फ अन्य सञ्चालन खर्च १२.३६ प्रतिशतले बढेर २९ करोड ५८ लाख तथा पर्सोनेल खर्च १५.७८ प्रतिशतले बढेर २९ करोड ५८ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा करिब २०.९१  प्रतिशतले बढेर ५६ करोड २२  लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ रहेको गरिमाको जगेडा कोषमा ८३ करोड ३९ लाख रुपैयाँ छ । यता, सेयरधनी कोषमा ७२ करोड २६ लाख रुपैयाँ र सेयर प्रिमियममा ९ करोड ७० लाख रुपैयाँ सञ्चित छ । बैंकले दोस्रो त्रैमासमा ५३ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
 
गरिमाको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि २० रुपैयाँ १० पैसाबाट वृद्धि हुँदै २४ रुपैयाँ ३१ पैसा पुगेको छ । समीक्षा अवधिलाई आधार मान्दा बैंकको मूल्य आम्दानी अनुपात १३.६५ गुणा, प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७ पैसा छ । यस्तै, तरलता अनुपात २२.७५ प्रतिशत, प्रतिसेयर कुल सम्पतिको मूल्य १ हजार ८ सय ६६ रुपैयाँ ६३ पैसा तथा पुँजी कोष अनुपात १२.०६ प्रतिशत रहेको छ । 
 
पुँजी लागत ८.५१ प्रतिशतबाट घटेर ६.३५ प्रतिशत आएको छ भने बेस रेट ८.३८ प्रतिशतमा छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.३९ प्रतिशत रहेको निष्क्रृय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिसम्ममा थोरै बढेर ०.९४ प्रतिशत पुगेको छ । 

गरिमाको अधिकांश सूचकमा प्रगति, खुद नाफा २०.९०% बढ्यो

गरिमा विकास बैंकको वित्तीय विवरण हेर्नुहोस् 


लाभांश इतिहास










फ्लोरसीट
 
गरिमा विकास बैंकको २ साताको फ्लोरसीट हेर्दा ४४, ३६ तथा ३८ ब्रोकरबाट सबैभन्दा बढी खरिद भएको पाइन्छ । यस्तै, बिक्रीतर्फ ४५, ३४ र ३६ नं ब्रोकरबाट सबैभन्दा बिक्री भएको देखिन्छ । त्यस्तै, बजार मूल्य ३२० रुपैयाँदेखि ३३० रुपैयाँको तहमा ४ लाख भन्दाबढी कित्ता सेयर कारोबार भएको छ । 


 
 
प्राविधिक विष्लेषण 


 
 
मैनबत्ति आकृति विश्लेषण 
 
साप्ताहिक चार्टमा तल्लो भागमा सानो स्याडो सहितको हरियो लामो मैनबत्ति आकार बनेको छ । साताको आइतबारदेखि बुधबारसम्म प्रायः स्थिर रहेकोमा बिहीबार यस कम्पनीको सेयरमा अत्याधिक खरिद चाप देखिएको छ । मैनवत्ति आकृतिले लगानीकर्ताको मनोविज्ञान दर्साउने गर्दछ । 
 
दैनिक १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स
 
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६२ बाट ७२ को स्केलमा आएको छ । आरएसआई ३० भन्दामुनि ओभर शोल्ड तथा ७० को स्केल भन्दामाथि ओभरबटमा विभाजन गरी बजारमा रणनीति बनाउन उपयोगी औजार हो । 
 
मुभिङ एभरेज कन्भरजेन्स डाइभरजेन्स
 
साताको अन्त्यमा आइपुग्दा एमएसीडी र सिग्नल रेखाले स्पस्ट बुलिश क्रस गरेको छ भने हिस्टोग्राम सेन्ट्रल लाइन भन्दामाथि पुगेको छ । यसले ट्रेन्डको स्ट्रेन्थ बढेको देखिन्छ । एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा सकारात्मक र माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिने गरिन्छ । 
 
कमोडिटी च्यानल इन्डेक्स
 
गत बिहीबार कारोबार बन्द भएसँगै कमोडिटी च्यानल इन्डेक्स धनात्मक ११९ को स्केलमा आएको देखाउछ । यदि, बजार धनात्मक १०० भन्दामाथि गयो भने बढ्ने र ऋणात्मक १०० को स्केल भन्दा तल झरेमा घट्ने संकेत गरेको मानिन्छ ।
 
बोलिन्जर ब्याण्ड 
 
गरिमा विकास बैंकको मूल्य माथिल्लो ब्याण्डमा रहेको छ । यदि, मूल्यले बोलिन्जर  ब्याण्डलाई ब्रेक गर्यो भने बढ्ने सम्भावना प्रबल रहेको बुझिन्छ ।
 
इलियट वेभ

 
इलियट वेभ सिद्धान्तको आधारमा गरिमा विकास बैंकको पहिलो मेजर वेभ (३) को पाँचौ माइनर वेभ (३) बन्ने प्रक्रियामा रहेको छ । गत बिहीबार कारोबार बन्द हुँदा यस बैंकको तीन बिन्दु मेजर वेभ (३), माइनोर वेभ (१) तथा वेभ (२) बाट फिबोनेसी एक्सटेन्सन हेर्दा १६१.८० प्रतिशतको ३३४ को बिन्दुमा पुगेको छ । सम्भवतः ३३४ रुपैयाँको तह ब्रेक गरेमा ३७५ रुपैयाँसम्म पुग्नेछ ।

यसपछि माइनोर वेभ (३) पूरा हुनेछ । त्यसपछि ३८ देखि ६१ प्रतिशत सानो करेक्सन लिंदै वेभ माइनोर (४) बने सम्भावना छ । यही फिबोनेसी एक्सटेन्सनको आधारमा २६१.८० प्रतिशतमा वेभ (५) पूरा भई मेजर वेभ (३) पूरा हुनेछ । गरिमा विकास बैंकको प्रमुख वेभ बन्ने प्रक्रियामा कारोबार भोलुमको भने ख्याल राख्नुपर्ने हुन्छ । अहिलेसम्म इलियट वेभ सिद्धान्तबाट हेर्दा वेभ (३) बन्ने प्रक्रियामा रहकाले अझ मूल्य उकालो लाग्ने सम्भावना प्रबल रहेको देखिन्छ । 
 
इलियट वेभ सिद्धान्तले लगानीकर्ताको मनोविज्ञानमा हुने लगातार परिवर्तनलाई मूल्य प्रवृतिमा खोजी गर्दछ । यस सिद्धान्तले आवधिक तथा दीर्घकालीन ट्रेन्ड सेट गर्ने आकृति इम्पल्सिभ वेभ तथा करेक्सनको संकेतका रुपमा करेक्टिभ वेभको विभाजन गर्छ ।
 
निष्कर्ष 
 
गरिमा विकास बैंकले दोस्रो त्रैमासमा २१.९१ प्रतिशत नाफा वृद्धि गरेको छ । बैंकको नाफामा अन्य सञ्चालन आम्दानी अन्तर्गतको २१ करोड २८ लाख रुपैयाँले ठूलो टेवा दिएको छ । कर्जा प्रवाह बढेसँगै इम्पेरिमेन्ट चार्ज अघिल्लो त्रैमासमा भन्दा १३१ प्रतिशतले बढेर १८ करोड ४८ लाख रुपैंया पुगेको छ । गत वर्ष सोही अवधिमा यो करिब ८ करोड रुपैयाँ मात्र रहेको थियो । प्रतिसेयर आम्दानी २० रुपैयाँ १० पैसाबाट बढेर २४ रुपैयाँ ३१ पैसा पुगेको छ ।

गरिमाले गत वर्षको नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत बोनन सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गरेको छ । १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६२ बाट ७२ को स्केलमा आउनु, एमएसीडी र सिग्नल रेखाले स्पस्ट बुलिस क्रस गरेको छ भने हिस्टोग्राम सेन्ट्रल लाइनभन्दा माथि छ ।

बोलिन्जर ब्याण्डको माथिल्लो ब्याण्डमा मूल्यले ब्रेक गर्ने सम्भावना छ भने कमोडिटी च्यानल इन्डेक्स धनात्मक ११९  को स्केलमा पुगेको छ । समग्रमा प्रमुख प्राविधिक सूचकहरुका आधारमा गरिमा विकास बैंकको अवस्था बुलिस मोमेण्टममा रहेको देखिन्छ । 
 
सावधानी : यो विश्लेषण आफैंमा पूर्ण होइन । यसर्थ, गहन अध्ययन र विश्लेषण गरेरमात्र लगानी सम्बन्धी निर्णय लिनु हुन आम लगानीकर्ताहरुसँग अनुरोध गरिन्छ । 

Post Your Comment