नेपाली पैसा
काठमाडौं : गुराँस लाइफ इन्सुरेन्सको आज आइतबार (असार १४ गते) बाट १००% हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१ अनुपातमा ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर बिक्री गरेको हो । यसमा साउन ४ गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ । फागुन २१ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन पाउनेछन् ।
बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ ।
त्यसैगरी, सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार डिल्लीबजार, इन्द्रचोक, काठमाडौं र कुमारीपाटी ललितपुरबाट आवेदन दिन सकिन्छ । आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन मिल्नेछ । एनएमबि क्यापिटलबाट भने चेकमात्र बुझिने ब्यवस्था रहेको छ ।
हाल यसको चुक्ता पुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी १ अर्ब ८७ करोड ७० लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन गुराँसले हकप्रद ल्याएको हो । यसअघि चैत २० गतेबाट निष्कासन गर्ने भनिएको यो हकप्रद सेयर कोरोनाका कारण स्थगन भएको थियो ।