Market Closed

गुराँस लघुवित्तको सोमबार आइपीओ खुल्ने, १ हजार भए पुग्ने, अधिकतम ५० हजारसम्म लगानी अवसर

24 Apr,2019
  • ipo_12_27_2018_1_15_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : गुराँस लघुवित्त वित्तीय संस्थाको वैशाख १६ गते सोमबारदखि आइपीओ खुला हुने भएको छ । गुराँसले प्रतिकित्ता १०० रुपैयाँ दरले २ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । कुल निष्कासन मध्ये ०.५% (३ हजार ८७५ कित्ता) कर्मचारी र ५% (१२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २ लाख ३३ हजार ६२५ कित्ता सेयर सर्वसाधारणका लागि खुला हुनेछ ।
 
यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । यो आइपीओमा वैशाख २० गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ १४ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५०० कित्ता सम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजीको ३२.२६% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल र गुराँस लघुवित्त वित्तीय संस्थाकोे केन्द्रीय कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न मिल्नेछ । ३ करोड रुपैयाँ भन्दा कम सार्वजनिक निष्कासनमा क्रेडिट रेटिङ गर्न बाध्यता नभएको भन्दै रेटिङ भने गरिएको छैन । 
 
गुराँसको आर्थिक वर्ष ७४–७५ मा प्रतिसेयर नेटवर्थ ९२।७२ रुपैयाँ छ । आर्थिक वर्ष २०७५–७६ मा प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ६५ पैसा पुग्ने प्रक्षेपण छ । यसैगरी, आर्थिक वर्ष २०७६–७७  र ७७–७८ मा प्रतिसेयर नेटवर्थ क्रमशः १३६ रुपैयाँ २६ पैसा र १६८ रुपैयाँ ३६ पैसा पुग्ने विश्लेषण गरिएको छ । 

गुराँस लघुवित्तको केन्द्रीय कार्यालय धनकुटा जिल्लामा छ । यसले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएको छ । गुराँसले २२ वटा शाखा कार्यालयबाट सेवा पुर्याउँदै आएको छ । यसको अधिकृत पुँजी १० करोड रुपैयाँ र जारी पुँजी ७ करोड ७५ लाख रुपैयाँ छ । जारी पुँजीमध्ये ५ करोड २५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी पुँजी सर्वसाधारणलाई आइपीओ बेचेर पुर्याउन लागिएको हो । 

गुराँस लघुवित्तको आइपीओ सम्बन्धी आव्हानपत्र यहाँबाट हेर्नुहोस् । 
 

Post Your Comment