हिमालयन पावर पार्टनरमा यसकारण सबैले पाउने भए सेयर

20 Jun,2017
  • IPO_6_20_2017_4_17_19.jpg
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन पावर पार्टनरको आइपीओमा हरेक आवेदकले कम्तीमा १० कित्ता सेयर पाउने भएका छन् । धितोपत्र बोर्डले साउन १ गतेदेखि अनिवार्यरुपमा आस्वा प्रणाली लागू गर्दै सबै आवेदकलाई न्यूनतम १० कित्ता सेयर दिने प्रावधान लागू गरेको छ । हिमालयन पावरले असार महिनाभित्र सेयर बाँडफाँट गर्न सम्भव नभएकाले सबैलाई सेयर दिनुपर्ने बाध्यता हुनेछ । तर हिमालयनले असार महिनाभित्र सेयर बाँडफाँट गर्न सक्ने देखिंदैन । साउन पुग्ने भएपछि धितोपत्र बोर्डको नयाँ नियम आकर्षित हुनेछ । यसआधारमा न्यूनतम सबैलाई १० कित्ता दिनुपर्ने भएको हो । हिमालयनले असार १ देखि ५ गतेसम्म २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री गरेको हो । हिमालयन पावर पार्टनरको बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको हो । बिक्री प्रबन्धकले असार महिनाभित्र सेयर बाँडफाँट सम्भव नहुने बताएको छ । असारमा बाँडफाँट सम्भव छैन । साउन पुगे नयाँ नियम अनुसार बाँडफाँट गरिन्छ, ग्लोबल आइएमई क्यापिटल सम्बद्ध अधिकारीले भने । 
 
धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरे हिमालयन पावर पाटर्नरले असारभित्रै सेयर बाँडफाँट गर्न सके नयाँ नियमले नछुने तर साउन लागेपछि बाँडफाँट गरेमा नयाँ नियम लागू हुने बताए । नयाँ नियम भनेको सबै आवेदकले न्यूनतम १० कित्ता सेयर पाउने भन्ने नै हो । ‘दरखास्त दिएको समय जुन भएपनि बाँडफाँट हुने बेलाका आधारमा नियम आकर्षित हुनेछ । यदि साउन लागेपछि सेयर बाँडफाँट भएमा न्यूनतम १० कित्ता सेयर सबैलाई दिनुपर्ने हुन्छ,’ उनले भने । तर अत्याधिक आवेदक भएर १० कित्ता पनि दिन नपुगेमा भने फेरि पनि गोलाप्रथा प्रणालीमै सेयर बाँडफाँट गर्नुपर्ने हुन सक्छ । तर हिमालयनमा त्यो अवस्था आउनेछैन । न्यूनतम सबैले १० कित्ता पाउनेछन् । अनि बढी भएको सेयर आवेदन रकमको आधारमा कसैले ११ कित्ता पाउन सक्छन् भने कतिपयले १२ देखि १३ कित्तासम्म पाउने सम्भावना देखिएको छ । यद्दपि, धितोपत्र बोर्डले कुन विधिबाट बाँडफाँट गर्न निर्देशन दिन्छ भन्ने निर्कोल भइसकेको छैन । 
 
नेपाल धितोपत्र बोर्डले सेयर बजारमा सबैको पहुँच पुर्याउने उद्देश्यले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका मै आगामी साउनदेखि आइपीओमा आवेदन दिएका सबैलाई कम्तीमा १० कित्ता सेयर दिनुपर्ने व्यवस्था गरेको हो । यसअघि ४० प्रतिशत सेयर साना लगानीकर्तालाई छुट्याउनुपर्ने व्यवस्था गरिएको भए पनि सबैलाई अनिवार्यको व्यवस्था थिएन । जसका कारण अत्याधिक आवेदन पर्दा गोलाप्रथाबाट बाँडफाँट हुन्थ्यो । अन्य (ठूला लगानीकर्ता) लाई ६० प्रतिशत दिइने भएकाले जति धेरै पैसा लगानी गर्न सक्यो त्यति बढीमात्रामा सेयर पाउने सम्भावना थियो । जसका कारण आइपीओमा ठूला अनि संस्थागत लगानीकर्ता हावी हुँदै आएका थिए । नयाँ नियमले ठूला लगानीकर्तालाई भने कस्ने काम गरेको छ । 

कम्पनीले असार १ देखि ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यस आधारमा सर्वसाधारणले १९ लाख ८१ हजार ६७५ कित्ता मात्र भर्न पाएका हुन् । यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । हाल हिमालयन पावरको जारी पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ । कम्पनीले जारी पुँजीको २०५ सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । यसअघि जारी पुँजीको १० प्रतिशत सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरिसकिएको छ । यसमा संस्थापक सेयरधनीको स्वामित्व ७० प्रतिशत छ । 
 
 
 

Post Your Comment