Market Closed

हिमालयन पावर पार्टनरले आइपीओमा नपरेको पैसा आइतबारदेखि दिने भयो फिर्ता

20 Jul,2017
  • Refund_7_20_2017_5_41_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : हिमालयन पावर पार्टनरले आइपीओ बाँडफाँटमा नपरेकाहरुलाई आइतबार ( साउन ८ ) गतेदेखि पैसा फिर्ता दिने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पारसमणि ढकालले आइपीओ बाँडफाँटमा नपरेकाहरुको पैसा आइतबारदेखि फिर्ता दिइने बताए । आइपीओ बाँडफाँट भएको ५ दिनभित्र पैसा फिर्ता दिनुपर्ने नियम रहेकाले आइतबार नै पैसा फिर्ता दिइने सीइओ ढकालले नेपाली पैसालाई जानकारी दिए । तर, कुन कुन बैंक तथा वित्तीय संस्थाबाट फिर्ता दिने भन्ने चाहिँ टंगो लाग्न बाँकी रहेको उनले बताए । हिमालयन पावरको आइपीओ बुधबार बाँडफाँट गरिएको हो । यो आइपीओमा नयाँ नियमअनुसार कुल आवेदक १ लाख ६३ हजार ७३७ जना सबैले १० कित्ताका दरले सेयर पाए । त्यसपछि बाँकी रहेको ३ लाख ४४ हजार ३०५ कित्ता सेयर गोलाप्रथाबाट बाँडिएको हो । गोलाप्रथाबाट थप ३४ हजार ४३० जनाले फेरि १० कित्ताका दरले सेयर पाँउदा उनीहरुको भागमा प्रत्येकलाई २० कित्ता सेयर पर्यो । यसैगरी बाँकी रहेको ५ कित्ता सेयर फेरि दोहर्याएर १–१ कित्तका दरले बाँडिएको हो । जसअनुसार थप ५ जनाले ११ कित्ताका दरले सेयर हात पारे । कुल आवेदकमध्ये १२ सय ६४ जनाको आवेदन रद्ध भएको छ ।

नेपाल धितोपत्र बोर्डले साउन १ गतेदेखि नयाँ नियम लागू गर्दै सकेसम्म सबै आवेदकलाई सेयर दिनुपर्ने ब्यवस्था गरेपछि सबैले सेयर पाएका हुन् । कम्पनीले असार १ देखि ५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरको २१ लाख ३० हजार ८३४ कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये ४२ हजार ६१७ कित्ता कर्मचारी र १ लाख ६ हजार ५४२ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । यो आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्ने प्रावधन थियो । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको हो । हाल हिमालयनको जारी पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ छ । जसमध्ये कम्पनीले जारी पुँजीको २०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । यसअघि कम्पनीले कम्पनीले जारी पुँजीको १०% सेयर लमजुङका आयोजना प्रभावित स्थानीयबासीलाई बिक्री गरेको थियो । हिमालयनमा संस्थापक सेयरधनीको स्वामित्व ७०% छ । 
 
 
 
 
 
 

Post Your Comment