Market Closed

राष्ट्रिय स्तरका विकास बैंकहरु पनि चम्किंदै, यसरी कमाए नाफा

14 May,2019
  • Performance-and-Growth_5_14_2019_6_05_50.jpg
इशारा कोइराला
 
काठमाडौं : राष्ट्रिय स्तरका ११ वटै विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश बैंकको सूचकमा सकारात्मक वृद्धि भएको छ । अधिकांश बैंकले नाफा बढाएका छन् भने जगेडा कोष पनि मजबुत बन्दै गएको छ । हेरौं कुन विकास बैंकको अवस्था कस्तो :

९ विकास बैंकको चुक्ता पुँजी बढ्यो, सबैभन्दा धेरै ज्योतिको
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ९ विकास बैंकले चुक्ता पुँजी बढाएका छन् । यस अवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा देवः विकास बैंक रहेको छ । देवः को चुक्ता पुँजी गत वर्षको यसै अवधिको तुलनामा ५५.१२% ले बढेर २ अर्ब ५३ करोड ३६ लाख ८० हजार रुपैयाँ पुगेको छ । 


 
यस अवधिमा दुई बैंकको चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ । गत वर्षकै पुँजी यथावत हुनेमा ओम र कैलाश विकास बैंक रहेका छन् । यता, यस अवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी ज्योति विकास बैंकको रहेको छ । यस बैंकको चुक्ता पुँजी १९.५२% ले बढेर ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । 
 
ओम डेभलपमेन्टको जगेडा कोषमा उत्साहजनक वृद्धि
 
चैत मसान्तसम्म आइपुग्दा ९ विकास बैंकले जगेडा कोषलाई मजबुत बनाएका छन् । यस अवधिमा सबैभन्दा धेरै जगेडा कोष ओम डेभलपमेन्ट बैंकले बढाएको छ । ओमको जगेडा कोष गत वर्षको यसै अवधिको तुलनामा ६९.५२% ले बढेर १ अर्ब १५ कारोड १२ लाख १ हजार रुपैयाँ पुगेको छ । 


 
यता, सबैभन्दा धेरै जगेडा कोष भने लुम्बिनीको १ अर्ब ४६ करोड ५४ लाख ७७ हजार रुपैयाँ रहेको छ । सांग्रिला र गण्डकी विकास बैंकको भने गत वर्षको यसै अवधिको तुलनामा जगेडा कोष घटेको छ । 
 
मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमायो
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । मुक्तिनाथको नाफा गत वर्षको यसै अवधिको तुलनामा ४०.८१% ले बढेर ६० करोड २० लाख ७५ हजार रुपैयाँ पुगेको छ । 


 
यता, यो अवधिमा सर्वाधिक नाफा बढाउनेमा लुम्बिनी विकास बैंक परेको छ । लुम्बिनीको नाफा ८६.२६% ले बढेर ३४ करोड ३४ लाख ९१ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा ९ विकास बैंकको नाफा बढे पनि दुई बैंकको नाफा भने घटेको छ । नाफा घटाउनेमा सांग्रिला डेभलपमेन्ट र कामना सेवा विकास बैंक रहेका छन् ।
 
७ बैंकको प्रतिसेयर आम्दानी बढ्यो, सर्वाधिक मुक्तिनाथको
 
चैत मसान्तसम्म आइपुग्दा ७ बैंकले प्रतिसेयर आम्दानी बढाएका छन् । यस अवधिमा सर्वाधिक प्रतिसेयर आम्दानी बढाउनेमा लुम्बिनी विकास बैंक परेको छ । यस बैंकको प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ९ रुपैयाँ २८ पैसाले बढेर २० रुपैयाँ ७३ पैसा पुगेको छ । 


 
यता, सबैभन्दा धेरै प्रतिसेयर आम्दानी मुक्तिनाथ विकास बैंकको रहेको छ । बैंकको प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ४ रुपैयाँ १९ पैसाले बढेर २६ रुपैयाँ १९ पैसा पुगेको छ । 
 
 
 
 

Post Your Comment