Market Closed

जनउत्थान लघुवित्तको १८ हजार कित्ता सेयर लिलामी खुला, कति छ बजार भाउ ?

27 Aug,2019
  • Auction_8_27_2019_9_46_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मंगलबार (भदौ १० गते) बाट सर्वसाधारण समूहको १८ हजार ५०३ कित्ता सेयर लिलामी खुला भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद भदौ १७ गतेसम्म हुनेछ ।
 
कम्पनीले यसअघि असार १२ गतेदेखि साउन १५ गतेसम्म २ लाख ८८ हजार कित्ता (१००%) हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । जसमा १८ हजार ५०३ कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको हकप्रद सेयर अहिले लिलामी प्रक्रियामा ल्याइएको हो ।
 
जनउत्थानको सोमबार नेप्सेमा प्रतिकित्ता ९७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई आधार मान्नुपर्ने हुन्छ । दोस्रो बजारमा कायम भाउ भन्दा केही सस्तोमा लिलामी भर्दा पर्न सक्ने सम्भावना रहन्छ ।
 
साथै, अहिलेको बजारको अवस्था, लगानीकर्ताको मनोविज्ञान, तरलता अवस्था, कम्पनीको व्यापार तथा भावी रणनीति, बजारमा माग र आपूर्तिको अवस्था लगायतका पक्षलाई विचार गरेर लिलामीको भाउ तोक्दा उचित हुन सक्छ । 
 
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थनाको मुख्य कार्यालय बुटवलबाट पनि आवेदन दिन सक्नेछन् । यसैगरी, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, जनकपुर, हेटौडा, पोखरा, बाग्लुङ तथा बुटवलबाट आवेदन दिन सक्नेछन् । यसैगरी, नारायणगढ, घोराही, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । 
 
हाल यस कम्पनीको चुक्ता पुँजी ४ करोड २९ लाख ६८ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २ करोड ४६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जनउत्थानको प्रतिसेयर आम्दानी ७३ रुपैयाँ ७३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ३२७ रुपैयाँ १ पैसा छ । 

Post Your Comment