जोशी हाइड्रोपावरको आइपीओमा ५९ करोड १२ लाखको आवेदन, कतिले भरे सेयर ?

05 Dec,2018
  • ipos_12_5_2018_5_34_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : जोशी हाइड्रोपावरको आइपीओमा ५९ करोड १२ लाख ६५ हजार रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकिङ प्रमुख सुजनबाबु अधिकारीले बुधबार ५ बजेसम्ममा ८२ हजार ६६५ जनाले ५९ लाख १२ हजार ६५० कित्ताका लागि आवेदन दिएको नेपाली पैसालाई जानकारी दिए । यो माग भन्दा ३.८० गुणा धेरै हो । जोशीको आइपीओ भर्ने म्याद बुधबार सकिएको छ । 

अन्तिम रुजू गरिएको तथ्यांक आउन बाँकी भएकाले आवेदक संख्या र रकम अझै बढ्न सक्ने उनले बताए । जोशी हाइड्रोपावरले मंसिर १६ गतेदेखि १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले ५० हजार ७१४ कित्ता (३%) कर्मचारी र ८४ हजार ५२३ कित्ता (५%) कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । यसबाट बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरिएको हो । 
 
कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो । यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । कम्पनीले इलाम जिल्लामा अपर पुवा–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
 
आयोजनाको विकास तथा आयोजना निर्माण गर्दा लिएको ऋण तिर्न पुँजी संकलन गर्नु नै आइपीओ निष्कासनको मुख्य उद्देश्य रहेको कम्पनीले उल्ल्ेख गरेको छ । यस आयोजनाको कुल लागत ५५ करोड ३५ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ हुन आउँछ ।
 
यता, कम्पनीले आव २०७६।७७ मा १ करोड ८९ लाख र आव २०७७।७८ मा २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, प्रतिसेयर आम्दानी आव २०७६।७७ मा ५ रुपैयाँ १२ पैसा र आव २०७७।७८ मा ६ रुपैयाँ ४ पैसा पुग्ने प्रक्षेपण छ । यसको सेयर पुँजी भने आव २०७७।७८ सम्म आइपीओ बिक्रीपछि कायम हुने ३७ करोड १४ लाख रुपैयाँ नै रहनेछ ।
 
 
 

Post Your Comment