ब्याजदर तत्काल घट्दैन, कुमारी बैंकका सहायक महाप्रबन्धक रामचन्द्र खनालसँग वार्ता

02 Dec,2018
  • 11_12_2_2018_8_59_59.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंकहरुको बेस रेट अहिले घट्ने सम्भावना नरहेको कुमारी बैंकका सहायक महाप्रबन्धक रामचन्द्र खनालले बताएका छन् । पछिल्लो ६ महिनादेखि बैंकहरुले दीर्घकालीन निक्षेप लिइरहेका छन् । खनालका अनुसार बैंकहरुले १० वर्षसम्म एउटै ब्याजदरमा निक्षेप लिइराखेकाले कस्ट अफ फन्ड पनि १० वर्षसम्मका लागि फिक्स्ड राखेका छन् । उनले भने ‘लामो समयको लागि निक्षेप लिएको हुँदा तत्काल बेस रेट घट्ने आधार छैन ।’ उनले बैंकहरुले आकर्षक ब्याजदर दिएर जारी गरिहेका ऋणपत्रतर्फ पनि संकेत गरे । 
 
बेस रेटमा खास परिवर्तन नआउँदासम्म बैंक ब्याजदर पनि घट्दैन । तर सामान्य घट्न भने सक्छ । बैंकहरुले मुद्दति निक्षेपको ब्याजदरमा गरेको सहमतिले बेस रेटलाई केही घटाउन सहयोग पुर्याएपनि अझै पनि बेस रेट असोजको वित्तीय विवरणमा देखिएको जस्तै नै रहने खनालले बताए । यसैकारण बैंक ब्याजदर पनि अबको भण्डै १–२ वर्षसम्म नघट्ने उनको भनाई छ ।
 
निक्षेप संकलन र कर्जा लगानीमा सन्तुलन नहुँदा बैंकहरुमा लगानी योग्य रकम अभाव देखिएको उनी खनाल बताउँछन् । पुँजी वृद्धिपछि बैंकहरु लगानी बढाउन आक्रामक भएका छन् । पुँजी वृद्धिकै अनुपातमा प्रतिफल लिनका लागि कर्जा प्रवाह गर्न बैंकहरु उद्दत भएपनि सोही आधारमा निक्षेप बढ्न नसकेकाले तरलता अभाव देखा परेको उनको भनाई छ ।
 
अहिले भएको पुँजी पूरा प्रयोग गरिसकेपछि बैंकहरुले कर्जा लगानीमा अहिले देखाएको आक्रामकता कम हुनेछ । बैंकहरुको पुँजी पर्याप्तता अनुपात ११% देखि १२% मा आएपछि यो समस्या समाधान हुने उनको भनाई छ । तर यसका लागि अझै २ वर्षसम्म पर्खिनुपर्ने उनको विश्लेषण छ ।
 
सहायक महाप्रबन्धक खनालले नेपाली पैसाको ‘फिन टक’ कार्यक्रमका लागि दिएको अन्तर्वार्ताको विस्तृत विवरण भिडियोमा हेर्नुहोस् ।

 

Post Your Comment