Market Closed

माउण्टेन इनर्जीको आइपीओ कति जनाले पाउलान ? प्रि–अलोटमेन्ट हुँदै

27 Nov,2020
  • ipo_news_7_3__7_9_2020_11_08_27.jpg
नेपाली पैसा

काठमाडौं : माउण्टेन इनर्जीको आइपीओ प्रि–अलोटमेन्ट आइतबार (मंसिर १४ गते) हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आइपीओ बाँडफाँटको तयारी स्वरुप प्रि–अलोटमेन्ट आइतबार हुनेछ । यता, प्रि–अलोटमेन्ट गरेको ३ दिन भित्र आइपीओ बाँडफाँट गर्ने प्रावधान अनुसार बुधबारसम्म बाँडफाँट गरिने नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

यद्दपि, कुन दिन बाँडफाँट गर्ने भनेर अन्तिम निर्णय भने भइसकेको छैन । मेरो सेयरमा आएको समस्याले समयमै आवेदन भेरीफाई हुन नसक्दा माउण्टेनको आइपीओ बाँडफाँटमा ढिलाई भएको बिक्री प्रबन्धकको भनाई छ । माउण्टेनको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

यो आइपीओमा कुल १ अर्ब ३९ करोड ४४ लाख ४१ हजार रुपैयाँ बरारको आवेदन परेको हो । जसमा ६ लाख ७४ हजार जनाले १ करोड ३९ लाख ४४ हजार ४१० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारका लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २६५ कित्तालाई आधार मान्दा ७.६१ गुणा बढी आवेदन हो ।अहिलेको तथ्यांक अनुसार (भेरिफाईमा वैध भएका आवेदक केही परिवर्तन हुन सक्ने) माउण्टेनको आइपीओमा १ लाख ८३ हजार २६ जना आवेदकले मात्र १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ ।

१ लाख ८३ हजार जनालाई १० कित्ताका दरले सेयर वितरण गर्दा सर्वसाधाणको लागि बिक्री खुला गरिएको १८ लाख ३० हजार २६५ कित्ता सेयर समाप्त हुनेछ । यसआधारमा अहिलेको मोटामोटी तथ्यांक अनुसार ४ लाख ९० हजार ९७३ जनाको हात खाली हुनेछ । माउण्टेनले कात्तिक २६ गतेबाट मंसिर ३ गतेसम्म १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन गरेको थियो । यसमध्ये २% अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५% अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो ।

सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्ने व्यवस्था थियो । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको थियो । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको विवरणपत्रमा उल्लेख गरिएको विवरण अनुसार आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । यसमा चन्दप्रसाद ढकाल, मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायतको प्रमुख लगानी रहेको छ ।
 
 

Post Your Comment