Market Closed

महुलीको २१.०५% लाभांश पारित गर्न पुस २९ मा एजीएम, ५०% हकप्रद पनि बिक्रीमा

23 Dec,2018
  • mahuli_8_21__1__5_8_2018_4_58_46.jpg
नेपाली पैसा
 
काठमाडौं : महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । सभामा महुलीले २१.०५% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । कम्पनीले गत वर्षको कमाईबाट २०% बोनस सेयर र १.०५% नगद लाभांश वितरण गर्न लागेको हो । महुलीले बोनसमा १ करोड २० लाख रुपैयाँ र नगदमा ६ लाख ३१ हजार ५२० रुपैयाँ खर्च गर्नेछ ।
 
सभा महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय सप्तरीमा हुनेछ । सभामा पुँजी वृद्धि तथा संस्थाको नाम परिवर्तन गर्ने एजेन्डा पनि छ । त्यस्तै, संस्थाको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने तथा कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरको बनाउने एजेन्डा पनि छ ।
 
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुनेछ । साधारण सभा गर्न महुलीले पुस १६ गते बुक क्लोज गर्नेछ । पुस १५ गतेसम्म कायम रहने सेयरधनी मात्र बोनस र नगद लाभांशको हकदार हुनेछन् ।
 
यता, महुलीले मंसिर ११ गतेदेखि ५०% हकप्रद सेयर बिक्री गरिरहेको छ । कम्पनीले २ः१ अनुपातमा ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता हकप्रद निष्कासन गरेको हो । यो हकप्रदमा कात्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् । यसमा पुस १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
 
सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । महुलीको हकप्रदमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । सनराइज क्यापिटल कमलपोखरी तथा महुलीका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिन्छ ।
यस्तै, महुली र सनराइज क्यापिटलको वेवसाइटमा रहेको फर्म डाउनलोड गरेर पनि आवेदन दिन सकिने छ । हाल यस कम्पनीको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद बिक्री खुला गरेको हो ।
 
हकप्रद बिक्रीपछि भने चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै, बोनस वितरणपछि पुँजी १० करोड २० लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा महुलीले ८५ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५७ रुपैयाँ १ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ३७१ रुपैयाँ ९२ पैसा छ ।  

Post Your Comment