नबिल बैंकको २ अर्बको ऋणपत्र आउने : ब्याज १०%, लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक

02 Apr,2019
  • nabil_img_4_2_2019_12_39_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : नबिल बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । लक्ष्मी क्यापिटल मार्केटले यो ऋणपत्रमा बिक्री प्रबन्धकको काम गर्नेछ । यस सम्बन्धमा नबिल बैंक र लक्ष्मी क्यापिटलबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लक्ष्मी क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् । नबिल बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी ६० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्तालाई व्यक्तिगत पहलबाट बिक्री गरिने नबिल बैंकले जनाएको छ । ७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक १०% दरले ब्याज पाइनेछ । ब्याज अर्ध वार्षिक रुपमा भुक्तानी हुनेछ । 
 

Post Your Comment