Market Closed

दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकहरुमध्ये को देखियो सबैभन्दा अब्बल ? (तथ्यांकहरु सहित)

29 Jan,2018
  • report_new_1_29_2018_6_09_55.jpg
सोभित थपलिया 
 
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निकै थला परेका वाणिज्य बैंकहरुले दोस्रो त्रैमासमा मिश्रित प्रगति गरेका वित्तीय विवरणहरु पेश गरेका छन् । पुँजी वृद्धिको संक्रमणमा रहेका बैंकहरुको नाफा पहिलो त्रैमासमा घटेको थियो । तर दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका २७ वाणिज्य बैंकमध्ये १८ वटाको खुद नाफा वृद्धि भएको छ भने ९ वटा बैंकको नाफा घटेको छ । प्राइम कमर्सियल बाहेक बाँकी सबै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । बैंकहरुले ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यताका कारण विगत वर्षमा भारी मात्रामा चुक्ता पुँजी वृद्धि गरेका थिए । अझै पनि यो क्रम जारी नै छ । धेरैजसो बैंकहरुले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरे पनि पुँजी वृद्धि भए अनुपातमा अझै आशातीत प्रगति भने भने हासिल हुन सकेको छैन । यही कारण धेरै बैंकहरुको प्रतिसेयर आम्दानी गत वर्षको भन्दा अझै खस्किएकै अवस्थामा देखिन्छ । तर क्रमिकरुपमा सुधार भएकाले आशावादी हुने ठाउँ पर्याप्त देखिएको छ । भारीमात्रामा पुँजी वृद्धिका कारण संक्रमणकालीन अवस्थामै रहेका बेला पनि २७ मध्ये १८ वटा बैंकले नाफा बढाउनुले भविष्यप्रतिको सकारात्मक आशा भने अवश्य पनि जगाएको छ । अहिलेसम्मको वित्तीय विवरण अध्ययन गर्दा नबिल बैंकनेपाल इन्भेष्टमेन्ट बैंक अधिकांश वित्तीय सूचकहरुमा अग्रस्थानमा आएका छन् । नबिल बैंकले सबैभन्दा धेरै १ अर्ब ८३ करोड ७७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।






यता, नेपाल इन्भेष्टमेन्ट बैंकले पनि तोकिएको चुक्ता पुँजी पुर्याएर १ अर्ब ८३ करोड ४ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । दुवै बैंकको नाफा लगभग बराबरीकै अवस्थामा देखिन्छ । यी २ बैंकहरु अन्य सूचकहरुमा पनि खरो उत्रिएका छन् । नबिल बैंक प्रतिसेयर आम्दानीमा पनि अघि आएको छ । बैंकको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४९ पैसा छ । यता, नेपाल बैंकको पनि प्रतिसेयर आम्दानी ४० रुपैयाँ ७४ पैसा छ भने इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ४५ पैसा छ । यो त्रैमासमा नबिलको खुद ब्याज आम्दानी पनि सबैभन्दा धेरै छ । यसले २ अर्ब ९३ करोड ५६ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पनि २ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । यसआधारमा इन्भेष्टमेन्टले नबिललाई पछ्याइरहेको बुझ्न गाह्रो पर्दैन । इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी सबैभन्दा धेरै छ । यस बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यसैगरी, ग्लोबल आइएमई बैंकको ८ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी छ । यता, अहिलेसम्म सबै भन्दा थोरै चुक्ता पुँजी एनसीसी बैंकको रहेको छ । एनसीसीको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । त्यसो त एनसीसी चुक्ता पुँजी बढाउन हकप्रद जारी गर्ने तयारीमा छ । 
 
यता, नेपाल बंगलादेश बैंक, सिटिजन्स, माछापुच्छ्रे, नेपाल, एनआइसी, एनसीसी, सनराइज, प्रभु र बैंक अफ काठमान्डूलाई भने पुँजी वृद्धिको असर बढी परेको देखिएको छ । यी बैंकहरुले खुुद नाफा बढाउन सकेका छैनन् भने अन्य सूचकहरु पनि अझै अपेक्षा गरिए अनुसार वृद्धि गर्न सकेका छैनन् । धेरैजसो वाणिज्य बैंकहरुको चुक्ता पुँजी केन्द्रीय बैंकले तोके अनुसार ८ अर्ब पुगिसकेको छ । केही बैंकहरु भने पुँजी पुर्याउने अन्तिम तयारी गरिरहेका छन् । पुँजी वृद्धि भए अनुसार लगानी बढाउँदै लैजाने चुनौती पनि बैंकहरु सामू रहेको छ । यसका लागि बैंकहरुले लगानीको क्षेत्र पनि फराकिलो बनाउँदै लैजानुपर्ने हुन्छ । दोस्रो त्रैमासको वित्तीय विवरणलाई सरसर्ती केलाउँदा पहिलेदेखि नै बलिया ठहरिएका बैंकहरु थप सबल हुँदै गएका छन् भने अन्य बैंकहरु पनि प्रगति गर्न हरसम्भव पहल गरिरहेको देखिन्छ । समग्रमा दोस्रो त्रैमासमा थोरै भए पनि नाफा बढेर आएको वित्तीय विवरणले भने सकारात्मक संकेत नै गरेको छ । यसबाट सेयर बजारका लगानीकर्ता पनि निरुत्साहित हुनुपर्ने अवस्था देखिंदैन । 
 
 
 
 

Post Your Comment