Market Closed

बैंकहरुको प्रगतिमा छलाङ, ९ वटाले यसरी कटाए खुद नाफा १ अर्ब (तथ्यांकहरु सहित)

31 Jan,2018
  • Financial-Report-_1_31_2018_6_25_23.jpg
सोभित थपलिया 
 
काठमाडौं : हाल सञ्चालनमा रहेका २८ वटै वाणिज्य बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । धेरैजसो बैंकहरुको वित्तीय विवरणमा सामान्य भए पनि क्रमिकरुपमा सुधार हुँदै गएको छ । तर केही वाणिज्य बैंकहरु भने केही महत्वपूर्ण सूचकहरुका आधारमा साँच्चिकै बलियो बनिरहेका छन् । चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा प्रवाह, खुद नाफा लगायतका सूचकमा बैंकहरु निकै सबल बन्दै गएको पाइन्छ । यही क्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ वटा वाणिज्य बैंकहरुले खुद नाफा नै १ अर्ब रुपैयाँ कटाएका छन् । बैंकहरुको खुद नाफा वृद्धिका लागि सञ्चालन नाफा र खुद ब्याज आम्दानीको मुख्य भूमिका देखिएको छ । कतिपयले राइट ब्याकबाट पनि नाफामा सुधार गरेका छन् । बैंकहरुले जारी गरेको वित्तीय विवरणलाई तुलना गर्दा नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक हरेक आधारले निकै बलिया हुँदै गएका देखिन्छन् । धेरै सूचकहरुलाई अध्ययन गर्दा अहिलेसम्म नबिल बैंक नै पहिलो स्थानमा देखिन्छ । तर नेपाल इन्भेष्टमेन्ट बैंकले उसलाई निकै नजिकबाट पछ्याइरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा सबैभन्दा बढी खुद नाफा नबिल बैंकले कमाउन सफल भएको छ । नबिलले यो अवधिमा १ अर्ब ८३ करोड ७७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यता, दोस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ८३ करोड ४ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएर नबिललाई चुनौती दिएको देखिन्छ । यस तथ्यांकले खुद नाफा दुवै बैंकको लगभग बराबरीको अवस्थामा रहेको बुझ्न सकिन्छ । 


 
नबिल बैंकको खुद नाफा मात्र नभएर सञ्चालन नाफा र खुद ब्याज आम्दानी पनि धेरै छ । बैंकको सञ्चालन नाफा २ अर्ब ७३ करोड ९१ लाख ३५ हजार रुपैयाँ पुगेको छ । बैंकले २ अर्ब ९३ करोड ५६ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । उसो त राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज आम्दानी ४ अर्ब भन्दा बढी छ । तर यो पूर्ण सरकारी स्वामित्वको बैंक हो । सर्वसाधारणमा यस बैंकको सेयर जारी भएको छैन । यसआधारमा हाल नबिल र इन्भेष्टमेन्ट बैंकबीच नै प्रतिस्पर्धा देखिएको छ । यी दुवै बैंकका सबै सूचकहरु बलिया छन् । इन्भेष्टमेन्टको पनि सञ्चालन मुनाफा २ अर्ब ४४ करोड ६४ लाख ४० हजार रुपैयाँ रहेको छ भने खुद ब्याज आम्दानी २ अर्ब ६८ करोड ५६ लाख २८ हजार रुपैयाँ रहेको छ । यता, सरकारी स्वामित्व रहेका नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको पनि खुद नाफा १ अर्ब रुपैयाँ कटेको छ । यसैगरी, दोस्रो त्रैमासमा खुद नाफा १ अर्ब कटाउनेमा एभरेष्ट बैंक, हिमालयन बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र एनएमबि बैंक पनि परेका छन् । अन्य कतिपय बैंकहरुको नाफा पनि १ अर्ब नजिक आइपुगेको देखिन्छ । नबिल, इन्भेष्टमेन्ट र राष्ट्रिय वाणिज्य बैंक त दोस्रो त्रैमासमै खुद नाफा २ अर्बकै हाराहारीमा पुगिसकेको तथ्यांकले देखाउँछ । 
 
 
 

Post Your Comment