१७ वाणिज्य बैंकले सार्वजनिक गरे प्रगति विवरण, कुनको अवस्था कस्तो ?

07 May,2019
  • profit_img__new_5_7_2019_6_49_41.png
इशारा कोइराला 
 
काठमाडौं : हालसम्म १७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको  वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफा र प्रतिसेयर आम्दानीमा सुधार आएको छ । केही बैंकको चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ । कतिपयले भने क्रमिक रुपमा वृद्धि गरेका छन् । यता, अधिकांशको जगेडा कोष घट्दा खुद ब्याज आम्दानी भने सबैको बढेको छ । हेरौं, कुन बैंकको वित्तीय अवस्था कस्तो :
 
९ बैंकको चुक्ता पुँजी बढ्यो, ग्लोबल आइएमईको सर्वाधिक
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १७ मध्ये ९ बैंकको चुक्ता पुँजी गत वर्षको तुलनामा बढेको छ । बाँकी ८ वटाको भने पुँजी यथावत छ । यस अवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा एनएमबि बैंक रहेको छ । यस बैंकको चुक्ता पुँजी गत वर्षको यसै अवधिमा भन्दा २६.५०% ले बढेर ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ पुगेको छ ।



वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी ग्लोबल आइएमई बैंकको १० अर्ब ३१ करोड ५ लाख १५ हजार रुपैयाँ रहेको छ । 
 
   जगेडा कोष कसको बढ्यो अनि कस्को घट्यो ?  
 
चैत मसान्तसम्म आइपुग्दा ७ बैंकको जगेडा कोष घटेको छ । नबिल, सिटिजन्स, माछापुच्छ«े, ग्लोबल आइएमई, एनएमबि, लक्ष्मी र बैंक अफ काठमान्डूको जगेडा कोष घटेको हो ।



यता, यस अवधिमा सर्वाधिक जगेडा कोष बढाउनेमा सानिमा बैंक परेको छ । सानिमाको जगेडा कोष गत वर्षको भन्दा २७.१९% ले बढेर २ अर्ब ९ करोड ८७ लाख २८ हजार रुपैयाँ पुगेको छ । 
 
नेपाल बैंक बाहेक अन्य बैंकको नाफा बढ्यो
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल बैंक बाहेका अन्य १६ बैंकले नाफा बढाएका छन् । यस अवधिमा नेपाल बैंकको भने नाफा १२.५४% ले घटेर २ अर्ब २४ करोड ५५ लाख ७६ हजार रुपैयाँमा खुम्चिएको छ ।



यस अवधिमा सबैभन्दा धेरै नाफा प्रभु बैंकले बढाएको छ । प्रभुको नाफा गत वर्ष भन्दा ५८.३५% ले बढेर १ अर्ब ४५ करोड २१ लाख ७१ हजार रुपैयाँ पुगेको हो । 
 
१७ वटै बैंकको ब्याज आम्दानी बढ्यो, सर्वाधिक बढाउनेमा प्रभु बैंक
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १७ वटै बैंकले खुद ब्याज आम्दानी बढाएका छन् । सर्वाधिक खुद ब्याज आम्दानी बढाउनेमा प्रभु बैंक रहेको छ ।



प्रभुको खुद ब्याज आम्दानी ७३.३१% ले बढेर ३ अर्ब ३७ करोड ८३ लाख ७९ हजार रुपैयाँ पुगेको हो । यस अवधिमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी भने नबिल बैंकले हासिल गरेको छ । नबिलको खुद ब्याज आम्दानी ५ अर्ब ४१ करोड ९४ हजार रुपैयाँ रहेको छ । 
 
 
            प्रतिसेयर आम्दानीमा के छ बैंकहरुको अवस्था ? 
 
वित्तीय विवरण सार्वज्निक गरेका अधिकांशको प्रतिसेयर आम्दानीमा सुधार भएको छ । जम्मा ३ बैंकले प्रतिसेयर आम्दानी घटाएका छन् । प्रतिसेयर आम्दानी घटाउने बैंकमा नबिल, सद्धार्थ र नेपाल बैंक रहेका छन् । बाँकीको प्रतिसेयर आम्दानी बढेको छ । १७ बैंक मध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी नबिल बैंकको रहेको छ ।



नेपाल बैंकको प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिको तुलनामा १२ रुपैयाँ ५ पैसाले घटेर ३० रुपैयाँ ५२ पैसा पुगेको छ । १७ बैंकमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी घटाउनेमा नेपाल बैंक रहेको छ । नबिल बैंकको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ६९ पैसा रहेको छ । 
 

Post Your Comment