Market Closed

नबिल बैंकको खुद नाफामा ६.६४% वृद्धि, प्रतिसेयर आम्दानीलाई कसरी हेर्ने ?

01 Nov,2017
  • Nabil-bank-Ltd_11_1_2017_10_29_37.jpg
नेपाली पैसा
 
काठमाडौं : नबिल बैंकले चालु अर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६.६४% ले खुद नाफा वृद्धि गर्न बैंक सफल भएको हो । अघिल्लो वर्ष बैंकले ७९ करोड ८३ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी पनि ७.१०% ले वृद्धि गरी १ अर्ब ३६ करोड ६ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । बैंकले २ लाख ९९ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि ९ करोड ४५ लाख १५ हजार रुपैयाँ छुट्याएको छ । नबिल बैंकले पनि राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ३०.०७% ले चुक्ता पुँजी वृद्धि गरी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ पुर्याएको छ । भारीमात्रामा चुक्ता पुँजी वृद्धि हुँदा प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५७ पैसाले घटेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ १० पैसा छ । बैंकले भारीमात्रामा चुक्ता पुँजी वृद्धि गर्दा खुद नाफा पनि सँगसँगै वृद्धि गर्दै लगेको देखिन्छ । यसबाट भविष्यमा बैंक झन सबल बैंन्दै जाने अनुमान लगाउन सकिन्छ । बैंकको प्रतिसेयर नेटवर्थ पनि १४ रुपैयाँले घटेर १८४ रुपैयाँमा आएको छ ।
 
नबिलको रिजर्भ कोषमा ११.२४% वृद्धि भएर ६ अर्ब ९० करोड ५० लाख ८२ हजार रुपैयाँ जम्मा भएको छ । यो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको निक्षेप संकलन २.४५% ले बढेर १ खर्ब २३ अर्ब ७ करोड ३० लाख ५९ हजार रुपैयाँ पुगेको छ । यसैगरी, ९४ अर्ब ९८ करोड ४४ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गर्न बैंक सफल भएको छ । कर्जा लगानी पनि अघिल्लो वर्षको तुलनामा १३.६९ % ले वृद्धि भएको हो । बैंकले खराब कर्जा भने १.०९% बाट बढेर १.११% मा पुगेको छ । कस्ट अफ फन्ड पनि १.८८% बाट बढेर ४.४०% पुगेको छ । बैंकको इक्विटीमा प्रतिफल घटेको छ । इक्विटीमा प्रतिफल २७.०३% बाट घटेर २३.४५% मा आएको हो ।

Post Your Comment