बंगलादेश बैंकले मार्यो बाजी, खुद नाफा २२ करोड कटाउँदा प्रतिसेयर आम्दानी २२ रूपैयाँ

29 Oct,2016
  • nbbank_10_29_2016_11_06_58.png
नेपाली पैसा

काठमाडौं : नेपाल बंगलादेश बैंकले खुद नाफामा बाजी मारेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ५० लाख १९ हजार रूपैयाँ खुद नाफा गरेर आफूलाई अब्बल रहेको प्रमाणित गरेको हो ।

बैंकले गत वर्षभन्दा १० करोड एक लाख २७ हजार रूपैयाँ बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको यही अवधिमा बैंकको खुद नाफा जम्मा १२ करोड ४८ लाख ९२ हजार रूपैयाँमात्र थियो ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट वितरण गरेको ३२ प्रतिशत बोनस सेयरलाई पनि पुँजी गणनामा समावेश गरेको छ ।

बंगलादेश बैंकले यो त्रैमासमा ३२ करोड रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गर्न सफल भएको छ । गत वर्ष बैंकको यस्तो आम्दानी जम्मा १९ करोड ६४ लाख हाराहारीमा मात्र थियो । यसआधारमा ब्याज आम्दानीमा भएको बढोत्तरीलाई पनि राम्रै मान्नुपर्छ ।

 फि, कमिसन र डिस्काउन्ट शीर्षकमा पनि बैंकले झन्डै १३ करोड रूपैयाँ कमाएको छ । १६ करोडभन्दा बढी सम्भावित जोखिमका लागि छुट्याउँदा आठ करोड ३९ लाख ७२ हजार रूपैयाँ राइट ब्याक गर्न पनि बंगलादेश बैंक सफल भएको छ ।

चार अर्ब एक करोड १७ लाख ५९ हजार रूपैयाँ चुक्ता पुँजी भएको यो बैंकको रिजर्भ कोषमा दुई अर्ब २५ करोड २५ लाख ९४ हजार रूपैयाँ जम्मा भइसकेको छ ।

व्यापारको आकार विस्तार गर्नेक्रममा बंगलादेश बैंकले ३९ अर्बभन्दा बढी निक्षेप संकलन गरी ३४ अर्ब हाराहारीमा कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २२ रूपैयाँ हुँदा प्रतिसेयर नेटवर्थ एक सय ५६ रूपैयाँ पुगेको छ । खराब कर्जा १.१६ प्रतिशतमा सीमित गरेको बैंकको कस्ट अफ फन्ड ४.१८ प्रतिशत छ ।

Post Your Comment