सेयर बजारले म्युचुअल फन्डहरुलाई कता डोर्याउँदैछ ? आयो ११ वटै फन्डको यस्तो तथ्यांक

01 Dec,2017
  • mutul_12_1_2017_5_58_49.jpg
समिर गौतम 
 
काठमाडौं : म्युचुअल फन्डहरुको कात्तिक महिनामा प्रतिइकाई खुद मूल्य घटेको छ । हाल सञ्चालनमा रहेका ११ वटै म्युचुअल फन्डको प्रतिइकाई खुद मूल्यमा असोज महिनाको तुलनामा गिरावट आएको हो । अधिकांश म्युचुअल फन्डको सूचीकृत सेयरमा लगानी पनि घटेको छ । कात्तिकमा सेयर बजार लगातार घटेकाले म्युचुअल फन्डको खुद मूल्यमा पनि प्रत्यक्ष असर परेको हो । सेयर बजार घट्दा सूचीकृत कम्पनीहरुको सेयर भाउ पनि घट्छ । म्युचुअल फन्डहरुको अधिकांश लगानी सूचीकृत कम्पनीको सेयरमै रहेको हुनाले सेयर भाउ घट्दा फन्डहरुको प्रतिइकाई खुद मूल्य पनि घटेको हो । कात्तिक मसान्तमा सबैभन्दा धेरै नबिल ब्यालेन्स्ड फन्डएनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद मूल्यमा गिरावट आएको छ । असोजको तुलनामा यी दुवै फन्डको प्रतिइकाई खुद मूल्यमा ५४ पैसाको कमी आएको छ । अहिले ब्यालेन्स्ड फन्डको प्रतिइकाई खुद मूल्य १८ रुपैयाँ ७० पैसा छ । असोजमा यसको प्रतिइकाई खुद मूल्य १९ रुपैयाँ २४ पैसा थियो । प्रगति फन्डको पनि प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ९१ पैसाबाट घटेर ९ रुपैयाँ ३७ पैसामा आएको छ । एनआइबीएल क्यापिटलकै व्यवस्थापनमा सञ्चालित एनआइबीएल समृद्धि फन्डको खुद मूल्यमा पनि ४९ पैसाको गिरावट आएको छ । एनएमबि हाइब्रिड फन्ड एल १ को प्रतिइकाई खुद मूल्य भने जम्मा ८ पैसाले घटेको छ ।



एनएमबि क्यापिटलको अर्को म्युचुअल फन्ड एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डमा पनि ३१ पैसाको घटेको छ । यता, २ वटा म्युचुअल फन्डको सूचीकृत सेयरमा लगानी बढ्दा अरु ९ वटाको भने घटेको छ । लक्ष्मी क्यापिटलले सञ्चालन गरिरहेको लक्ष्मी भ्याल फन्ड र लक्ष्मी इक्विटी फन्डले सेयरमा लगानी बढाएका छन् । भ्यालु फन्डले जम्मा ७ लाख ९७ हजार रुपैयाँले लगानी वृद्धि गरे पनि इक्विटी फन्डको लगानी भने ६ करोड ५९ लाख १५ हजार रुपैयाँ धेरै भएको छ । लक्ष्मी इक्विटी फन्डले सेयरमा लगानी ५५ करोड ५४ लाख ८६ हजार रुपैयाँबाट बढाएर ६२ करोड १४ लाख १ हजार रुपैयाँ पुर्याएको हो । यी २ योजनाबाहेक बाँकी सबैको सेयर लगानी घटेको छ । सेयर लगानीमा सबैभन्दा धेरै एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डको गिरावट आएको छ । यस फन्डको सेयरमा लगानी १५ करोड ७४ लाख ३ हजार रुपैयाँले घटेर कात्तिकमा ४९ करोड ९० लाख २० हजार रुपैयाँमा सीमित भएको हो । यसैगरी, सिद्धार्थ लगानी वृद्धि योजनाको लगानी पनि १२ करोड ३७ लाख ४४ हजार रुपैयाँले घटेको छ । कात्तिकमा यो फन्डले ५६ करोड ५३ लाख ७३ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।

सूचीकृत सेयरमा सबैभन्दा धेरै लगानी भने एनआइबीएल समृद्धि फन्डको छ । यसले ९४ करोड ९८ लाख ५ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । असोज महिनामा पुँजी बजार सुस्त देखिएको थियो । नेप्से सामान्य अंकले घट्ने क्रममै थियो । यसले गर्दा म्युचुअल फन्डहरुमा पनि असर परेको देखिन्छ । पछिल्लो समय भने बजारले केही सम्हालिने मौका पाएको छ । बजारलाई सन्तुलनमा राख्न म्युचुअल फन्डहरुले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन् । तर यति हुँदाहुँदै पनि सेयर बजारमा म्युचुअल फन्डहरुको उपस्थिति न्यून देखिन्छ । हाल सञ्चालनमा रहेका म्युचुअल फन्डहरुमध्ये केही परिपक्क हुन लागिसकेका छन् । यता, नयाँ म्युचुअल फन्डहरु थपिने क्रम पनि जारी छ । म्युचुअल फन्डका योजनाहरु पनि पाइपलाइनमा रहेका छन् । यी फन्डहरुको बजारमा बलियो उपस्थिथि रहनु पनि आवश्यक देखिन्छ । म्युचुअल फन्डहरु उपस्थिति राम्रो भएमा बजारले पनि गति लिनसक्ने सम्भावना रहन्छ । 
 
 
 
 
 
 

Post Your Comment