Market Closed

गजब गर्‍यो नेपाल बैंकले, खुद मुनाफा नै एक अर्ब ६४ करोड माथि

11 May,2016
  • nepal_bank_5_11_2016_1_09_54.jpg
 
नेपाली पैसा 
काठमाडौं : मुलुककै सबैभन्दा पुरानो नेपाल बैंकले बल्ल सञ्जिवनी बुटी फेला पारेको छ । 
 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आइपुग्दा बैंकले सबैलाई चकित पार्ने गरी आफ्नो वासलत बाहिर ल्याएको छ । बैंकले गत वर्षभन्दा खुद मुनाफा एक अर्ब २८ करोड २० लाख ९२ हजारले रूपैयाँले वृद्धि गरेको छ । 
 
गत वर्ष यसै अवधिमा जम्मा ३६ करोड ६ लाख ५८ हजार रूपैयाँ खुद मुनाफा हासिल गरेको बैंकले यसपटक यसमा ह्वात्तै वृद्धि गरी खुद नाफा एक अर्ब ६४ करोड २७ लाख ५० हजार रूपैयाँ कमाउन सफल भएको हो । 
 
बैंकले आफ्नो निष्कृय कर्जा अनुपात पनि घटाएर जम्मा  ३.६७ प्रतिशतमा सीमित गरेको छ । यो बैंकको ठूलो उपलब्धि हो । खराब कर्जा पाँच प्रतिशतभन्दा तल झारेपछि लाभांश बाँड्न सामान्यतयः राष्ट्र बैंकले रोक्दैन । 
 
यद्दपि, बैंकको रिभर्ज कोष अझै सकारात्मक हुन बाँकी छ । रिभर्ज कोष ९४ करोड ९० लाख ४१ हजार रूपैयाँले नकारात्मक भए पनि गत वर्षको तुलनामा यो कोषले पनि यु टर्न नै गरेको देखिन्छ । 
 
गत वर्ष चैत मसान्तको अपरिस्कृत वित्तीय विवरणमा बैंकको रिजर्भ कोष दुई अर्ब ७५ करोड ७२ लाख ५५ हजार रूपैयाँले ऋणात्मक थियो । यसैगरी प्रगति गर्दै गएमा आगामी चौथो त्रैमासको वासलतमै बैंकले रिभर्ज कोष धनात्मक बनाउन सक्ने सम्भावना देखिएको छ । 
 
बैंकले निक्षेप कोषलाई पनि बृहत्तर बनाउँदै लगेको छ । यतिबेला बैंकले निक्षेप ८२ अर्ब ६३ करोड १२ लाख  रूपैयाँ निक्षेप संकलन गरिसकेको छ । बैंकमा अधिक तरलताको समस्या रहेका बेला पनि नेपाल बैंकले ५९ अर्ब ८२ करोड चार लाख ७५ हजार रूपैयाँ ऋण लगानी गर्न सफल भएको छ । 
 
सरकारी स्वामित्वको यो बैंकले लगानीको क्षेत्र पनि फराकिलो पार्दै गएको यसबाट प्रस्टिन्छ । बैंकले दुई अर्ब ९० करोड ७६ लाख ९६ हजार रूपैयाँ ब्याज आम्दानी गरेको छ । 
यसवर्ष विदेशी मुद्रा कारोबारबाट पनि एक करोड ९८ लाख ९३ हजार रूपैयाँ आम्दानी गर्न यो बैंक सफल भएको देखिन्छ । गत वर्ष विदेशी विनिमयको कारोबारमा बैंकले १० करोड ८४ लाख ७८ हजार रूपैयाँ घाटा खाएको थियो । 
 
 अरबौं रूपैयाँको भौतिक सम्पति भए पनि विगतमा वित्तीय व्यापार राम्रो नहुँदा बैंक घाटामा थियो । बैंकको वित्तीय स्वास्थ्य निकै समस्या ग्रस्त बनेपछि सरकारले वित्तीय क्षेत्र सुधार कार्यक्रममार्फत दशक अघि विशेष अपरेसन योजना अघि सारेर बैंकलाई क्रमशः सबल बनाउँदै लगेको हो । 
 
वित्तीय सूचकमा सबल बन्दै गएको नेपाल बैंकलाई अझै पनि अधिक कर्मचारी र यो शीर्षकमा गएको खर्च व्यवस्थापन गर्न भने धेरै नै मेहनत गर्नुपर्ने देखिन्छ । 
 
बैंकले सार्वजनिक गरेको रिपोर्टमा एक अर्ब ५२ करोड ५९ लाख दुई हजार रूपैयाँ कर्मचारीको तलबभत्ता तथा अन्य सुविधामा खर्च भएको छ । यो रकम उच्च हो । त्यसो त बैंकले पुराना कर्मचारीलाई स्वेच्छिक अवकाश योजना अघिसारेको छ । 
 
नयाँ अनि बजार प्रतिस्पर्धी जनशक्ति भर्ना कार्यक्रमलाई तीब्रता दिइरहेको छ । स्वेच्छिक अवकाश योजनाले सफलता पाएपछि बैंकमा निकै सबल जनशक्ति तय हुने अपेक्षा गर्न सकिन्छ । 
 
सम्भावित नोक्सानीबापत १८ करोड ६२ लाख ३१ हजार छुट्टयाउँदा ४१ करोड ५१ लाख ७१ हजार रूपैयाँ राइट ब्याक गर्न पनि बैंक सफल भएको छ । तेस्रो त्रैमास रिपोर्ट अनुसार बैंकको प्रतिसेयर आम्दानी ३३ रूपैयाँ ८८ पैसा हुँदा मूल्य–आम्दानी अनुपात १२.४६ गुणा छ । प्रतिसेयर नेटवर्थ भने ८५.३२ छ । 
 
६२ प्रतिशत सरकारको लगानी रहेको बैंकमा सर्वसाधारण लगानीकर्ताको ३८ प्रतिशत सेयर छ । बैंकले हकप्रद जारी गरी यसै वर्ष चुक्ता पुँजी आठ अर्ब पु¥याउने कसरत गरिरहेको छ । 
गैरबैंकिङ सम्पति बिक्री गरी पुँजी कोष सकारात्मक बनाउन पछिल्ला वर्ष जग्गा बिक्री गर्ने कामलाई बैंकले तीब्रता दिएको छ ।

नागरिक लगानी कोष र नेपाल इन्सुरेन्समा रहेको सेयर लगानी बिक्रीको तयारी पनि सुरू भइसकेको यो बैंकले दीर्घकालमा लगानीकर्तालाई मनग्ये नाफा दिन सक्ने वित्तीय सूचकहरूले देखाएका छन् । 

Post Your Comment