नेपाली पैसा
काठमाडौं :
नेपाल बैंकको एफपीओमा बिहीबारसम्म ३१ करोड ८२ लाख ९५ हजार ६०० रुपैयँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख सुजन बाबु अधिकारीले बिहीबार साँझसम्ममा कुल १० हजार ७६९ जना आवेदकले ११ लाख ३६ हजार ७७० कित्ता सेयर भरेका नेपाली पैसालाई जानकारी दिए ।
बिहीबार १ करोड १ लाख ८३ हजार रुपैयाँ हाराहारीमा मात्र आवेदन परेको हो । यस दिन ३८२ जनाले मात्र ३६ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन् । बुधबार सम्ममा १० हजार ३८७ जनाले ३० करोड ८१ लाख १२ हजार रुपैयाँ बराबरको एफपीओ भरेका थिए ।
नेपाल बैंकले असार १५ गतेदेखि प्रतिकित्ता २८० रुपैयाँ दरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । यो एफपीओ अब साउन १३ गतेसम्म भर्न पाइनेछ । यो अवधिमा पनि आवश्यक मात्रामा आवेदन नपरेमा अन्डरराइटरले लिनुपर्ने हुन्छ ।
लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् । नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गरेको हो । एफपीओपछि बैंकको चुक्त पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।