Market Closed

वाणिज्य बैंकहरुले यसरी बढाउँदैछन् लगानी, नाफा कसको धेरै ?

14 Nov,2019
  • capital_investment_11_14_2019_5_46_08.jpg
इशारा कोइराला 
 
काठमाडौं : नेप्सेमा सूचीकृत एक दर्जन वाणिज्य बैंकले आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक विवरण अनुसार समग्रमा खुद नाफा वृद्धि भएको छ । निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः वृद्धि हुँदै गएको देखिन्छ ।

एकातिर बैंकहरुले धमाधम प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेका छन् भने अर्को तिर आकर्षक लाभांश पनि प्रस्ताव गरिरहेका छन् । गत वर्षको नाफाबाट प्रस्तावित लाभांश केही बैंकको पारित भइसक्यो भने केहीको साधारणसभाको मिति तय भएका छन् । यसैसन्दर्भमा, हेरौं वित्तीय विवरण सार्वजनिक गर्ने एक दर्जन वाणिज्य बैंकहरुको अवस्था :
 
९ बैंकको चुक्ता पुँजी बढ्यो, धेरै बढ्नेमा प्राइम बैंक
 
पहिलो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेका मध्ये ९ वाणिज्य बैंकको चुक्ता पुँजी बढेको छ । सबैभन्दा धेरै चुक्ता पुँजी बढाउनेमा प्राइम कमर्सियल बैंक रहेको छ । यसको चुक्ता पुँजी २०.५८% ले बढेर ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार रुपैयाँ पुगेको छ ।



तर सबैभन्दा धेरै चुक्ता पुँजी भने कृषि विकास बैंकको १४ अर्ब ४४ करोड ८२ लाख ४० हजार रुपैयाँ रहेको छ । यद्दपि, यो पुँजीमा नेपाल सरकारको अग्राधिकार सेयर समेत सामेल छ । ग्लोबल आइएमईको चुक्ता पुँजी १० अर्ब ४३ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजी गत वर्ष कै यथावत हुनेमा एभरेष्ट, सनराइज र जनता बैंक रहेका छन् । 
 
९ बैंकको नाफा बढ्यो, धेरै नाफा ग्लोबल आइएमईको
 
अहिलेसम्म ९ बैंकको खुद नाफा बढेको छ । सबैभन्दा धेरै खुद नाफा बढाउनेमा ग्लोबल आइएमई बैंक परेको छ । यो बैंकको नाफा ४०.५५% ले बढेर ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।



यो नै अहिलेसम्म सबैभन्दा धेरै नाफा कमाउने बैंक हो । यता, नेपाल बैंकको नाफा ३६.३३% ले घटेको छ । नाफा घट्ने अरु दुई बैंकमा सिटिजन्स र सिद्धार्थ बैंक पनि रहेका छन् । 
 
१२ वटै बैंकको निक्षेप बढ्यो, धेरै बढाउनेमा नेपाल बैंक
 
वित्तीय विवरण सार्वजनिक गर्ने १२ वटै बैंकले निक्षेप संकलन बढाएका छन् । सबैभन्दा धेरै निक्षेप संकलन नेपाल बैंकले बढाएको छ । यसको निक्षेप संकलन २२.८६% ले बढेर १ खर्ब १४ अर्ब ७९ करोड ८२ लाख २१ हजार रुपैयाँ पुगेको छ ।



यसअवधिमा सबैभन्दा धेरै निक्षेप संकलन एभरेष्ट बैंकले गरेको छ । यसको निक्षेप संकलन गत वर्षको भन्दा ११.९७% ले बढेर १ खर्ब ३४ अर्ब ७४ करोड ४९ लाख ८५ हजार रुपैयाँ पुगेको छ । 
 
धेरै कर्जा लगानी गर्नेमा ग्लोबल अइएमई, बढाउनेमा नेपाल बैंक
 
पहिलो त्रैमाससम्म आइपुग्दा सबै बैंकको कर्जा विस्तार भएको छ । सबैभन्दा धेरै कर्जा लगानी बढाउनेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको कर्जा लगानी ४५.२२% ले बढेर १ खर्ब १४ अर्ब ७९ लाख ८२ हजार २१ रुपैयाँ पुगेको छ ।



यसअवधिमा सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा भने ग्लोबल आइएमई बैंक परेको छ । ग्लोबल आइएमई बैंकको कर्जा लगानी १९.०७% ले बढेर १ खर्ब १८ अर्ब ४८ करोड ७१ लाख ८० हजार रुपैयाँ पुगेको छ । 

Post Your Comment