Market Closed

एनसीसीको लिलामी सेयरमा किन भयो यस्तो बिजोग, ७० लाख कित्ता खुल्दा ३ हजारमात्र बिक्री

15 Mar,2018
  • Nepal-credit-and-commercial-_3_15_2018_4_02_04.jpg
नेपाली पैसा 
 
काठमाडौं :  एनसीसी बैंकको संस्थापक सेयर बिक्री नभएपछि थप अन्योल उत्पन्न भएको छ । एनबी समूहले बेच्न लागेका ७० लाख कित्ता संस्थापक सेयरमध्ये जम्मा १ जनाले ३ हजार कित्ताका लागिमात्र आवेदन दिएका छन् । बाँकी ६९ लाख ९७ हजार कित्तामा भने कुनै पनि आवेदन नै परेन । यसआधारमा संस्थापक सेयर बेच्ने एनबी समूहको प्रयास यसपटक भने विफल भएको छ ।

सम्बद्ध स्रोतहरुका अनुसार भाउ बढी भएको भन्दै ठूला लगानीकर्ता किन्नबाट पछि हटेका हुन् । अर्कोतर्फ सेयर बजार घट्दाको प्रभाव लिलामीमा परेको हो । त्यसो त यसअघि एनसीसीकै नेपाल इन्सुरेन्सको स्वामित्वमा रहेको संस्थापक सेयर प्रतिकित्ता १ सय ७० रुपैयाँका दरले लिलामी खुला गरिएको थियो । 
 
बिक्री प्रबन्धक सीबीआएइएल क्यापिटलका मर्चेन्ट बैंकिङ प्रमुख शुभ लक्ष्मी रञ्जितले एनसीसीको ७० लाख कित्ता लिलामीमध्ये जम्मा एक जना आवेदकले ३ हजार कित्ताका लागि मात्र बोलपत्र भरेको नेपाली पैसालाई बताइन् । ती आवेदकले प्रतिकित्ता २११ रुपैयाँ मूल्य तोकेर आवेदन दिएको रञ्जितले जानकारी दिइन् । यसआधारमा बैंकले अब ६९ लाख ९७ हजार कित्ता संस्थापक सेयर पुनः बिक्री खुला गर्नुपर्ने देखिएको छ । 
 
एनसीसीको यो संस्थापक सेयर माघ १८ गतेदेखि फागुन ३ गते सम्मको म्याद तोकेर लिलामी खुला गरिएको थियो । तर त्यस समयमा सेयर बिक्री नभएपछि फेरि म्याद थप गरी बुधबार (फागुन ३० गते) सम्म भर्ने व्यवस्था गरिएको हो ।

यो लिलामीमा सेयरको न्यूनतम मूल्य भने २१० रुपैयाँ तोकिएको थियो । जसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था रहेको थियो । एनबी समूहले नै सेयर बिक्री गरेकोले संस्थापकतर्फको भारी सेयर बजारमा आएको हो । 
 
हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । चुक्ता पुँजी बढाउने अभियानमा रहेको एनसीसी बैंकले ५०% हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रदका लागि अनुमति मागेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनसीसीले ३५ करोड ४५ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ३५६.७४% धेरै हो । गत वर्ष बैंकले ७ करोड ७६ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । एनसीसीको प्रतिसेयर आम्दानी १० रुपैयाँ २४ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २९ पैसा छ । 
 
 
 
 

Post Your Comment