एनसीसी बैंक भन्छ–केवाइसी फारम भरेर छिटो बुझाउनुहोस्, नत्र खाता रोक्का हुन सक्छ

23 Mar,2018
  • Nepal-credit-and-commercial-_3_23_2018_6_38_05.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनसीसी बैंकले आफ्ना सबै ग्राहकलाई केवाइसी फराम भरेर बुझाउन अनुरोध गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार ग्राहकहरुको पहिचान विवरण (केवाइसी) अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने भएकाले एनसीसीले यस्तो आग्रह गरेको हो । एनसीसीमा खाता भएकाहरुले आफूलाई पायक पर्ने कुनै पनि शाखाबाट बैशाख मसान्त भित्र ग्राहक केवाइसी भरेर बुझाउनुपर्नेछ । 
बैंकले वैशाख मसान्तसम्म पनि आफ्नो पहिचान सम्बन्धी विवरण अद्यावधिक नगर्ने ग्राहकको खाता रोक्का गरिदिने चेतावनी समेत दिएको छ । अब पनि विवरण बुझाउन आनाकानी गर्नेहरुको खाता रोक्का राख्ने बैंकको भनाई छ । 
 
हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ छ । चुक्ता पुँजी बढाउने अभियानमा रहेको एनसीसी बैंकले ५०% हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रदका लागि अनुमति मागेको हो ।
 
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनसीसीले ३५ करोड ४५ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ३५६.७४% धेरै हो ।

गत वर्ष बैंकले ७ करोड ७६ लाख १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । एनसीसीको प्रतिसेयर आम्दानी १० रुपैयाँ २४ पैसा (वार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २९ पैसा छ । 
 
 
 

Post Your Comment