Market Closed

एनसीसी बैंकमा नागरिक लगानी कोष छिर्ने संकेत, १९१ रुपैयाँमा सबै कित्ताका लागि आवेदन

06 Jan,2019
  • auction_img_1_6_2019_12_14_34.png
नेपाली पैसा 
 
काठमाडौं : एनसीसी बैंकमा नागरिक लगानी कोष पस्ने सम्भावना देखिएको छ । नागरिक लगानी कोषले एनसीसीले खुला गरेको पूरै लिलामी सेयरमा आवेदन दिएको हो । स्रोतका अनुसार एनसीसीले १९१ रुपैयाँका दरले खुला भएको सर्वसाधारण समूह तर्फको सबै १३ लाख ९४ हजार १९८ कित्ताका लागि आवेदन दिएको हो । 
 
 यद्दपि, सबै सेयर नागरिक लगानी कोषले पाउन सम्भावना भने छैन । १९१ रुपैयाँभन्दा बढी भाउ तोकेर लिलामी भर्नेहरु पनि भेटिएका छन् । तर कोषले सबै कित्ताका लागि १९१ रुपैयाँका दरले आवेदन दिएकाले त्यसभन्दा तल भाउ राखेर आवेदन दिनेले भने सेयर नपाउने निश्चित भएको छ । यसको कट अफ प्राइस पनि १९१ रुपैयाँ नै हुने देखिएको छ । एनसीसी बैंकको लिलामी सेयरको बोलपत्र खोल्ने काम धमाधम भइरहेको छ ।
 
एनसीसी बैंकले कुल ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामी खुला गरेको हो । यसमा संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता सेयर रहेको छ । लिलामी भर्ने गत शुक्रबार अन्तिम दिन थियो । एनसीसीले पुस ११ गतेदेखि लिलामी खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको हो । 
 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी भएका थिए । नेप्सेमा बिहीबार एनसीसीको अन्तिम मूल्य प्रतिकित्ता २१३ रुपैयाँ रहेको थियो । बैंकले यसअघि भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । त्यसबेला १ करोड ५४ लाख ८४ हजार २९० कित्ताका लागि मात्र आवेदन परेपछि नबिकेको ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामीमा ल्याएको हो ।
 
हाल एनसीसीको चुक्ता पुँजी ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि पुँजी ७ अर्ब २ करोड रुपैयाँ पुग्नेछ । एनसीसी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४६ करोड ९१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४ पैसा छ ।
 

Post Your Comment