Market Closed

सेयर बजार निरन्तर घटिरहँदा पनि उनीहरुले हारेका छैनन् हिम्मत

25 Aug,2018
  • pyoudel_and_wadgle_8_27_2018_12_12_11.jpg
नेपाली पैसा 
 
काठमाडौं : धितोपत्र बजार यतिबेला ओरालो लागिरहेको छ । बजार घटेकाले लगानीकर्ताहरु पनि अन्योलमा छन् । कुन कम्पनीमा लगानी गर्ने ? कसरी लगानी गर्ने ? यस्तो परिस्थितिमा लगानी गर्दा के कुरामा ध्यान दिने ? यी र यस्तै प्रश्नको सेरोफेरोमा धेरै लगानीकर्ताहरु रुमलिरहेको देख्न सकिन्छ । दोस्रो बजारमा लगानी गर्नुपूर्व सम्बद्ध कम्पनी लगायत विविध पाटोका बारेमा अध्ययन गर्न अत्यावश्यक हुन्छ । राम्रो अध्ययन, अनुसन्धान गरी लगानी गरेपछि बजार घट्दा पनि धेरै डराउनुपर्दैन । यसै सन्दर्भमा हामीले सेयर बजारका २ जना नवप्रवेशीका सेयर बजार सम्बन्धी विचार, भोगाई र बुझाई प्रस्तुत गरेका छौं । 
 
सेयर बजार घट्यो तर डगमगाएको छैन हिम्मत 


 
सन्दिप पौडेल
 
हाल काठमाडौंको बानेश्वर बस्ने सुनसरी इनरुवाका १८ वर्षीय सन्दिप पौडेल बजार निरन्तर घट्दा पनि आत्तिएका छैनन् । सेयर बजारप्रति उनको धारणा निकै सकारात्मक छ । बजार बढेर १८८१ विन्दुमा पुगेको समयमा दोस्रो बजार पसेका सन्दिप पौडेल अहिले नेप्से १२०० अंकभन्दा पनि तल आइपुग्दा पनि आत्तिएका छैनन् । करिब एक दर्जन कम्पनीको सेयरमा लगानी गरेका पौडेल यति बेला नोक्सानमा नै छन् ।

नौ कक्षा पढ्दादेखि नै सेयर बजारमा लगानी गर्न थालेका उनी हाल बालाजु औधोगिक क्षेत्रमा रहेको बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी कलेजमा ओभसियर अध्ययनरत छन् । बाबु, आमाले सेयर बजारमा लगानी गरेको देखेर उनी यसतर्फ आकर्षित भए । दशैंमा टिका लगाउँदा पाएको दक्षिणादेखि अन्य विभिन्न माध्यमबाट संकलन भएको पैसा सेयरमै लगानी गरेको उनी बताउँछन् ।

उनले ९ कक्षा पढ्दादेखि नै प्राथमिक निष्कासन (आइपीओ) मा लगानी गर्न थालेको भएपनि दोस्रो बजारमा भने विगत डेढ वर्ष अघि मात्र प्रवेश गरेका हुन् । उनले दोस्रो बजारमा पहिलो पटक नेपाल इन्भेष्टमेन्ट बैंकको २०० कित्ता सेयर किने । यसपछि उनको दोस्रो बजारको यात्रा सुरु भयो ।
 
अहिले बजार घट्दा पनि उनमा डर भने छैन । पहिला पहिला डर लाग्ने गरेको अनुभव सुनाउने पौडेल भन्छन, ‘दीर्घकालीन रुपमा लगानी गर्न थालेपछि डर हराउन थालेको छ ।’ पौडेल बुबाआमाले गरेको लगानीको पोर्टफोलियो हेर्ने गरेको पनि बताउँछन् । उनले बजारमा लगानी गर्नु अघि रविन्द्र भट्टराईको सेयरबाट करोडपति, आधारतभूत विष्लेषण, कमोडिटी बजार सम्बन्धी किताब पढे ।

त्यति मात्र नभएर विदेशी लेखकका किताब पनि अध्ययन गरे । उनी लगानी गर्न सुरु गरेसँगै बेन्जामेन ग्राहमको दि इन्टेलिजेन्स इन्भेष्टर लगायतका पुस्तक पढेर सेयरको आधारभूत विष्लेषण गर्न सजह भएको र दीर्घकालीन लगानी गर्न हौस्याएको बताउँछन् ।
 
बजारमा आउने नयाँ लगानीकर्तालाई माइन्ड डाइभर्ट नगर्न, दीर्घकालीन लक्ष्य बनाउन, थोरै मूल्य आम्दानी अनुपात भएका तर राम्रो कम्पनी रोज्न आग्रह गर्छन् । साथै लगानी गर्नुपूर्व कम्पनीको व्यवसाय, म्यानेजमेन्ट कस्तो छ भन्नेतर्फ ध्यान दिन उनको सुझाव छ ।

आफू कम्पनीहरुको ब्यालेन्स सिट पढ्ने भएकाले अरुलाई पनि ब्यालेन्स सिट हेर्न आग्रह गर्छन् । पौडेलको बुझाईमा कम्पनीको ब्यालेन्स सिट भनेको मेडिकल रिपोर्ट जस्तै नै हो । लगानी गर्नुपूर्व आफ्नो क्षमता हेर्ने र सोही अनुसार लगानी गर्ने हो भने नोक्सानी नहुने भएकाले आफ्नो क्षेमता हेर्न र महँगो ब्याजमा कर्जा नलिन उनको सुझाव छ ।
 
 
साथीहरु डराइरहेका छन् तर उनलाई बजारप्रति पूर्ण विश्वास छ

 
नीता वाग्ले
 
पछिल्ला दिनहरुमा ब्रोकर अफिसमा गृहिणीहरुको सहभागिता बढ्दै गएको छ । प्रायःले बजारको बारेमा बुझेर नै लगानी गर्ने गरेका छन् भने कतिपयले लगानी र बजारको बारेमा बुझ्ने काम पनि सँगसँगै गरेका छन् । पहिला आइपीओमा लगानी गरेर बजार बुझेपछि दोस्रो बजारमा लगानी गर्ने मध्येकी एक हुन् चितवनकी नीता वाग्ले । 
 
उनले नबुझेरै भए पनि आइपीओमा लगानी गर्न २०६२–६३ पछि सुरु गरिन् । दोस्रो बजारमा लगानी गर्न थालेको एक वर्ष मात्रै भयो । आइपीओमा लगानी गर्दा घाटा नै नभए पनि नाफालाई कसरी सुरक्षित गर्ने भन्ने बारेमा उनी बल्ल अहिले बुझ्दैछिन् । 
 
दोस्रो बजारमा लगानी गर्न लगानीकर्ता राजु पौडेल प्रेरक बनेको उनी बताउँछिन् । पौडेलको सहयोगमा चितवनमा सेयर बजार सम्बन्धि तालिम सुरु भयो । तालिम लिने ५० जना महिलामध्ये उनी पनि एक थिइन् । त्यसबेला तालिम लिएका महिलामध्ये १०–१५ जनाले अहिले पनि सकृय रुपमा दोस्रो बजारमा लगानी गरिरहेको उनको भनाई छ ।
 
बजार घटेका कारण केही साथीहरु भने अझै दोस्रो बजारकै बारेमा बुझिरहेका वाग्ले बताउँछिन् । घट्दो बजारमा लगानी गर्न अरु डराए पनि आफूले दीर्घकालीन योजनाका साथ लगानी गरेका कारण डर कम भएको वाग्लेको भनाई छ । लगानी गर्न उनलाई पतिको पनि हौसला र साथ मिलेको छ ।
 
पति र आफूले सँगै सेयर बजारको तालिम लिएका कारण लगानी गर्न अवरोध नभएको उनको भनाई छ । आजकाल लगानी गर्दा कम्पनीको वास्तविक अवस्था बुझेर वित्तीय विवरण हेरेर मात्र लगानी गर्न थालेको वाग्लेले अनुभव साटिन् ।
 
घट्दो बजारमा लगानी गर्दा केही नोक्सान भएपनि विस्तारै नेप्से बढ्नेमा उनी निश्चिन्त छिन् । विगत १ वर्ष अघि दोस्रो बजारमा लगानी गर्न थालेकी उनले पहिलो पटक वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, बिमा र लघुवित्तको थोरैथोरै सेयर किनिन् । एकैपटक धेरै कम्पनीमा लगानी गर्न उनलाई ठीक लाग्दैन ।

कम्पनीको बारेमा नबुझी एउटैमा धेरै लगानी गर्नेहरु डुबेर फ्रस्टेसन भएको देखेकी उनी कम्पनी बुझेर थोरै थोरै भएपनि एक भन्दा बढीमा लगानी गर्न सुझाव दिन्छिन् । थोरै लगानी गर्ने तर धेरै कम्पनीमा लगानी गर्न सकेको खण्डमा धेरै नफस्ने उनको बुझाई छ । यी कुरा तालिम लिएपछि थाहा भएको उनी बताउँछिन् ।
 
सेयर बजारमा हल्लाका भरमा लगानी नगर्न उनको सुझाव छ । टिभी हेर्ने र फेसबुक चलाउने समय बजारमा खर्चिन सके सेयर बजारको बारेमा जानकारी पाउन सकिन्छ । नेटको सहजताका कारण घरमा बसेर पनि लगानी गर्न सजिलो भएको उनले बताइन ।
 
वाग्लेले सेयर बजारको बारेमा आफूले थाहा पाएको सूचना अरुलाई पनि जानकारी गराउन फेसबुक क्लोज ग्रुप खोलेर १०–१५ जना साथीहरुले सूचना आदान प्रदान गर्ने गरेको बताइन । ‘रात पनि लामो र छोटो हुन्छ’ वाग्ले भन्छिन्, ‘बजार पनि यस्तै हो, कहिले बढ्छ कहिले घटछ, घटनासाथ आत्तिनु हुँदैन ।’
 
(नेपाली पैसाका सोभित थपलियाले गरेको कुराकानीमा आधारित)
 
 
 
 
 
 

Post Your Comment